बारा । बाराको महागढीमाई नगरपालिकामा तालिम कार्यक्रमका नाममा व्यापक अनियमितता भएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले करिब १ करोड रुपैयाँ बिना कुनै ठोस काम कुम्ल्याइएको देखाउँदै नगरपालिकाको नेतृत्वमाथि गम्भीर आरोप लगाएको छ । प्रतिवेदनमा नगर प्रमुख उपेन्द्र यादवले आफ्ना सहयोगीहरूसँग मिलेमतो गरेर कानुन र सरकारी मापदण्डको ठाडो उल्लङ्घन गरेको स्पष्ट उल्लेख छ ।
महागढीमाई नगरपालिकाले महिला सशक्तीकरण, बाल अधिकार र सीप विकासका नाममा दर्जनौँ तालिमको आयोजना गरेको दाबी गरे पनि ती कार्यक्रममा कुनै पनि प्रत्यक्ष कार्यान्वयन नभएको प्रमाणित भएको छ । उदाहरणका लागि, सिलाई–कटाई तालिममा ३ लाख ३७ हजार रुपैयाँ, एडभान्स ब्युटिसियन तालिममा ९ लाख ६९ हजार रुपैयाँ, महिला हिंसा सचेतना कार्यक्रममा ५ लाख ३२ हजार रुपैयाँ र स्यानिटरी प्याड बनाउने तालिममा ३ लाख ८३ हजार रुपैयाँ खर्च भएको देखाइए पनि यस्ता तालिमहरू कागजमा मात्र सीमित रहेको स्थानीयहरूले आरोप लगाएका छन् ।
महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ का प्रावधानहरूको धज्जी उडाउँदै ६०/४० को भागबन्डामा गैरसरकारी संस्थाहरूसँग मिलेमतो गरी रकम भुक्तानी गरेको खुलासा गरेको छ । मेयर यादवमाथि आफ्ना निकट व्यक्तिहरूलाई लाभ दिलाउन नगरपालिकाको स्रोत र बजेटको मनपरी उपयोग गरेको आरोप लागेको छ ।
स्थानीय बासिन्दाहरूको भनाइमा नगरपालिकाका अधिकांश कार्यक्रममा कुनै पनि सहभागिता अभिलेख छैन । अनिल यादव नामका एक स्थानीयले भने, “तालिमका नाममा हुने हरेक योजना मेयर र उनका नजिकका व्यक्तिहरूको व्यक्तिगत लाभमा सीमित छ । जनता भोकै बसिरहेका बेला उनीहरू सरकारी बजेटलाई निजी कमाइका साधन बनाइरहेका छन् ।”
मेयर यादवसँग यस विषयमा प्रतिक्रिया लिन पत्रकारहरूले पटक–पटक सम्पर्क प्रयास गर्दा पनि उनी प्रतिक्रिया दिन अघोषित रूपमा अस्वीकार गर्दै आएका छन् । समाचारका विषयमा प्रतिक्रिया लिनका निमित्त मेयर यादवसँग सम्पर्क गर्न उनको कार्यालयमा रहेको मोबाइल नम्बर (९८५५०४८८१३) मा पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । जनप्रतिनिधिको जबाफदेहितामाथि गम्भीर प्रश्न उठिरहँदा, मेयर यादवको मौनताले उनले दोष स्वीकारेको सङ्केत गरेको स्थानीयहरूको भनाइ छ ।
महागढीमाई नगरपालिकामा तालिम कार्यक्रमको नाममा झिकिएको पैसा कहाँ र कसरी उपयोग भयो भन्ने कुनै विवरण छैन । अधिकांश रकम निजी खातामा गयो भन्ने आरोप गम्भीर बन्दै गएको छ । यसरी विकासे बजेट ठगीका लागि मात्र प्रयोग भएको देखिनुले महागढीमाई नगरपालिकाको छविमा काला दाग लागेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनपछि स्थानीयहरूले मेयर उपेन्द्र यादवमाथि कारबाहीका लागि जोरदार आवाज उठाइरहेका छन् । “यो सिर्फ भ्रष्टाचारको मामिला होइन; यो जनता र सरकारबिचको विश्वासमाथिको ठगी हो,” स्थानीय अगुवा रमेश साहले भने ।
अब स्थानीय सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सङ्घीय निकायहरूले यस मुद्दालाई कत्तिको प्राथमिकताका साथ अघि बढाउँछन् भन्ने कुरा जनताका लागि प्रतीक्षाको विषय बनेको छ । दोषीमाथि कठोर कारबाहीको माग गर्दै जनताले नगरपालिकाभित्र सत्यता र पारदर्शिताका लागि आन्दोलनको चेतावनी दिएका छन् ।