काठमाण्डौ । नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट खेल्ने टोली घोषणा गरेको छ।
नियमित कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपलब्ध नहुने भएपछि पुलिसले आरिफलाई कप्तानीको जिम्मा दिएको हो।
दीपेन्द्र आईएल टी-२० क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) जाने भएका हुन्।
टोलीमा आरिफसँगै राष्ट्रिय टोलीका कुशल भुर्तेल, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा, अर्जुन साउद र सागर ढकाल छन्।
यस्तै रशिद खान, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, शंकर राना, अभिनाश कर्ण र दिपक सेरेला टोलीमा समेटिएका छन्।
रातो बल र सेतो जर्सीमा खेलाइने प्रतियोगिता पुस २१ गतेदेखि माघ ३ सम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिम खेल्नेछन्। जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेश छन्।
इलिट कपका लिग चरणका खेल दुई दिवसीय ढाँचामा हुनेछ।
यस्तै, फाइनल खेल तीन दिवसीय ढाँचामा सञ्चालन गरिने क्यानले जानकारी दिएको छ।
बागमतीले सन्दीपको कप्तानीमा टोली घोषणा गरिसकेको छ। प्रधानमन्त्री कपमा आर्मीलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि जितेको थियो।