वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १० मा चिसो र शीतलहरको समयमा सडकमा बस्ने कुकुरहरूको सुरक्षाका लागि विशेष पहल गर्दै कुकुर बस्ने घरहरूको व्यवस्था गरिएको छ ।
वडाध्यक्ष सुशील कुमार कानुको नेतृत्वमा व्यवस्था गरिएको कुकुर बस्ने घरको निर्माणका लागि विभिन्न दाताहरूले पनि सहयोग गरेका छन् ।
वडाध्यक्ष कानुले सडकमा बस्ने कुकुरहरूको हेरचाह गर्नु मानवताको उत्कृष्ट उदाहरण भएको बताउँदै भने, “सडकमा बस्ने कुकुरहरूले हाम्रो माया र सहयोगको आवश्यकता छ । हाम्रो सानो प्रयासले उनीहरूको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्नेछ ।”
कुकुर बस्ने घरहरू निर्माण भएपछि स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गरेका छन् । “अभियानले समुदायमा दया र समर्पणको भावना झल्काउँछ । यस्ता कार्यले मानवता र पशुप्रतिको संवेदनशीलतालाई प्रवर्द्धन गर्छ,” स्थानीय समाजसेवी प्रदीप बरनवालले भने ।
वडा नम्बर १० का विभिन्न स्थानमा निर्माण गरिएका कुकुर बस्ने घरहरूले सडकका कुकुरहरूलाई चिसोबाट बचाउनुका साथै अन्य वडाहरूलाई पनि यस्तै प्रयास गर्न प्रेरणा दिने विश्वास वडाध्यक्ष कानुले व्यक्त गरेका छन् ।
वडाध्यक्ष कानुले यस प्रकारका कुकुर बस्ने घर निर्माण गर्न अन्य वडा कार्यालयहरूले पनि पहल गर्न सक्ने सुझाव दिएका छन् । उनले भने, “यस कार्यका लागि आवश्यक परामर्श र सहजीकरण गर्न वडा नम्बर १० सधैँ तयार छ । समाजका सबै वडाहरूमा यस्ता प्रयास भए अझ राम्रो सन्देश प्रवाह हुनेछ ।”
अभियानले वीरगञ्जको स्थानीय समाजमा सकारात्मक चर्चा ल्याएको छ, र दाताहरूको निरन्तर सहयोगले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।