भारतमा पहिलो पटक एचएमपीभी (ह्युमन मेटाप्नेमोभाइरस) भाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सङ्क्रमण दक्षिण भारतीय राज्य कर्नाटकमा देखिएको हो।
त्यहाँको बेंगलुरुको एउटा अस्पतालमा आठ महिनाकी बालिकामा संक्रमण पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन्। यो भाइरस नयाँ वर्षको सुरुवातमा नै चीनमा ठूलो सङ्ख्यामा मानिसहरूलाई प्रभावित पारेपछि चर्चामा छ।
एचएमपीभी भाइरस श्वास–प्रश्वासमा समस्या उत्पन्न गर्ने खालको भाइरस हो, जसले मौसमी फ्लूको जस्तै लक्षणहरू देखाउँछ। विशेष गरी बालबालिका र वृद्धवृद्धाहरू यसको संक्रमणबाट बढी प्रभावित हुन सक्छन्।
सन् २००१ मा नेदरल्यान्ड्समा पत्ता लागे पनि २४ वर्ष बितिसक्दा पनि एचएमपीभीको खोप विकास भएको छैन। यो भाइरस सबै उमेरका मानिसहरूलाई संक्रमण गर्न सक्छ, तर वृद्ध र साना बालबालिकालाई धेरै असर गर्दछ।
सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउँदा सङ्क्रमण सर्न सक्छ। नाकबाट पानी बग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, थकान लाग्नु, खोकी लाग्नु, ज्वरो आउनु वा चिसो लाग्नु जस्ता लक्षणहरू रहेका छन्।
जानकारहरूका अनुसार यसले श्वासप्रश्वास र फोक्सोको नलीमा सङ्क्रमण गर्छ, जसकारण खोकी लाग्ने र सास फेर्न गाह्रो हुने गर्छ। यसबाट बच्न कोभिड–१९ जस्तै सामाजिक दूरी कायम राख्नुपर्छ।
कुनै पनि सङ्क्रमित व्यक्तिबाट टाढा रहनु वा मास्क प्रयोग गर्नु राम्रो हुन्छ। नियमित रूपमा साबुन पानीले हात धुनुपर्छ। खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्नु लगायतका उपायहरू अपनाउनुपर्छ।