वीरगञ्ज । बाराको कलैयास्थित श्री तिन चन्द्र माध्यमिक विद्यालयमा भूकम्पको धक्काले १० जना विद्यार्थी बेहोस भएका छन् । विद्यार्थीलाई तत्काल उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो ।
बेहोस भएका विद्यार्थीहरूको अवस्था सामान्य रहेको चिकित्सकहरूले जनाएका छन् । उनीहरूलाई उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।
मङ्गलवार बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पको धक्का नेपाल र भारतका विभिन्न भागमा महसुस गरिएको थियो । बारालगायत देशभर हल्का झट्का महसुस भएपछि विद्यार्थीहरू त्रसित भएर कक्षाकोठाबाट बाहिर निस्किएका थिए ।
विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरीका अनुसार, भूकम्पको त्रासका कारण मङ्गलवारको पठनपाठन स्थगित गरिएको छ । “विद्यार्थीहरू अझै त्रासमा रहेकाले कक्षाकोठामा फर्कन अस्वीकार गरेपछि सबैलाई सुरक्षित रूपमा घर पठाइएको छ,” उनले बताए ।
बेहोस भएका विद्यार्थीहरूलाई कलैया अस्पतालमा प्राथमिक उपचार गरिएको र अहिले उनीहरू सुरक्षित छन् । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले अस्पतालमा पुगेर विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले भूकम्पको कारणले बारामा कुनै भौतिक क्षति नभएको पुष्टि गरेका छन् । “विद्यार्थीहरू सामान्य अवस्थामा छन् । अन्यत्र क्षतिको विवरण सङ्कलन भइरहेको छ, तर अहिलेसम्म ठूलो क्षतिको जानकारी आएको छैन ।”
चीनको तिब्बत क्षेत्रको याङबाजी गाउँ केन्द्रबिन्दु भएर गएको भूकम्पले नेपाल र भारतका बिहार तथा उत्तर प्रदेशमा समेत कम्पन महसुस गराएको जनाइएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत र सुरक्षित रहन अपिल गरेको छ ।
भूकम्पपछि सबै जनालाई सतर्क रहन आग्रह गर्दै प्रहरी प्रशासनले राहत तथा उद्दार तयारी पूरा भएको जनाएको छ ।