पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सा अहिले बिचौलियाको अखडा बन्दै गएको छ । आफूलाई नेताको छोरा , भाई तथा नेता निकट भएकोले छिटै काम गराइदिने , मुद्दा मिलाउने अथाव मुद्दा कमजोर गराइदिने भन्दै बिचौलियाको काममा सक्रिय भएपछि बिचौलियाको अखडा बन्दै गएको छ ।
यस्ता बिचौलियाहरु दिनभरि जिल्ला प्रहरी कार्यालय पर्साको क्यान्टिन , महिला सेल तथा मुद्दा शाखामा दिनभरि उठबस गर्दै प्रहरीको नजिक बताउँदै गाउँघरबाट सेवा लिन आएका सीधा सोझा मानिसहरूलाई आफू छिट्टै काम गराइदिने अथवा मुद्दा मिलाइदिने भन्दै लकाई फकाई पैसा लिने गरेका छन् ।
यो कुरा जिल्ला प्रहरी कार्यालय पर्साले केहि महिना अगाडि आयोजना गरेको नागरिक सुनवाई कार्यक्रममा सहभागी सेवाग्राहीहरूले बिचौलियाबाट पीडित भएको गुनासो पोखे । सो कार्यालयको प्रायः सबैजसो फाँटहरूमा बिचौलियाको सहारा लिएर काम गराउनुपर्ने र यसबाट आफूहरू पीडित हुन गरेको उनीहरूले दुःखेसो पोखेका थिए ।
बिचौलिया जिल्ला प्रहरी कार्यालय, पर्साको मात्र समस्या होइन। जिल्लामा रहेका जनताको प्रत्यक्ष सरोकार हुने तथा आर्थिक कारोबार हुने भूमिसुधार तथा मालपोत, यातायात, नापी, भन्सार, आन्तरिक राजस्व, सबै सरकारी कार्यालयहरूलाई नियमन गर्ने जिल्ला प्रशासन, कारबाई गर्ने अख्तियार अनि न्याय सम्पादन गर्ने अदालतमा समेत बिचौलियाहरूको बिगबिगी छ।
सरोकारवाला सेवाग्राहीले सीधै काम गराउने वातावरण बनिसकेको छैन। यो होइन कि यसविरुद्ध पहल गरिएको छैन तर सार्थक र टिकाउ प्रयास नगरिएको कारण अहिलेसम्म बिचौलियाहरूको बिगबिगी जारी छ।
एउटै मान्छे दिनको १० चोटी जिल्ला प्रहरी कार्यालय पर्सा , वडा प्रहरी कार्यालय श्रीपुर र वडा प्रहरी कार्यालय विर्ता ओहर दोहर गर्नुको कारण नै प्रष्ठ रूपमा बिचौलिया भएको ठहर गर्दछ ।
आम जनताले आफ्नो काम गराउनु छ भने बिचौलियाको सहारा लिनैपर्ने हुन्छ। बाहिरी आवरणमा यसविरुद्ध कार्यालय प्रमुखहरूले जति सफाइ दिएपनि भित्री कुरा भने विनाबिचौलिया कामै हुँदैन। कानून र विधिको कुरा गर्नेहरूको कुनै पनि कार्यालयमा काम बन्दैन, त्यही बिचौलियाको सहारा लिएपछि जस्तोसुकै नहुने काम पनि सम्पन्न हुन्छ ।
झूटा मुद्दाबाट मुक्ति दिलाउने शर्तमा कार्यालय प्रमुखहरूलाई सेटिङ्ग गर्ने अनि उन्मुक्ति दिलाएर रकम असुली गर्ने कार्यले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ। सोर्स, सिफारिश, भनसुन आदिबाट गरिने न्याय सम्पादनका काममा बढी चलखेल हुन्छ र यसको फाइदा बिचौलियाहरूले उठाउँदै आएका छन्। अहिलेसम्म आम मानिसको कुरा सीधा कसैले सुनिदिदैंन। फलतः त्यसका लागि कसै न कसैको सहारा लिनैपर्छ। सरोकारवालाहरूको कुरा सीधै सुन्ने र सोही अनुरूप न्याय सम्पादन गर्ने शैली विकास नगरुन्जेल बिचौलियाहरू कुनै न कुनै रूपमा सक्रिय भइरहन्छन्।
यो विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव निरीक्षक किशोर लम्सालले यस प्रकारको गुनासो आएपछि बिचौलियालाई कारबाई गर्ने , अब उप्रान्त बिचौलियाहरूको चलखेल रोक्ने र नियन्त्रण लिएर कारवाही गरिनेसमेत बताउनु भयो ।