काठमाण्डौ । तराई/मधेशमा केही दिनदेखि बिहान/बेलुका हुस्सु र कुहिरो लाग्ने गरेको छ । हुस्सु र कुहिरो लागेको बेलामा गाडी दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले कुहिरो तथा हुस्सु लागेका बेला सम्भावित जोखिम क्षेत्रमा सामान्य गतिमा गाडी चलाउन र बत्तीको प्रयोग गर्न अनुरोध गरेको छ ।
कार्यालयका सहायक हवल्दार सतिश ठाकुरका अनुसार बाक्लो हुस्सु र कुहिरो लागेका बेला राजमार्ग तथा भित्री बाटोमा गाडी चलाउँदा चालकलाई अनिवार्य हेडलाइट, इमर्जेन्सी लाइट बाल्न सचेत गराइएको छ । चालक सचेत भएमा सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ ।
हुस्सु र कुहिरो लागेका बेलामा बाटो राम्ररी देखिँदैन तर सचेत भएर चलाउँदा चालकसहित यात्रु सुरक्षित हुन्छन् । सुरक्षित यात्रा गर्न ट्राफिक नियमको पालना गर्न ट्राफिक प्रहरीको आग्रह छ । राजमार्गमा चल्ने गाडी र यात्रुको सडक सुरक्षाका लागि अभियान नै चलाएको ट्राफिक प्रहरीले जनाएको छ ।
कम प्रकाश हुँदा देख्नका लागि साइकल, अटो रिक्सा, ट्याक्टरको टालीमा टल्कने अर्थात् 'रिफ्लेक्टिभ स्टिकर' टाँस्ने, बिहान र बेलुका जाँचलाई थप प्रभावकारी बनाउने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने काम भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
हुस्सु र कुहिरोले दृश्य कमजोर र बाटो चिप्लो भएपछि गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा गाडीको आवागमन प्रभावित भएको थियो ।