राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रको अन्त्यपछि बहुदलीय व्यवस्था हुँदै अहिले गणतन्त्रमा आइसक्दा पनि मधेसी समुदायमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडनमा कुनै कमी नआएको बताएका छन् ।
मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिला र दलित समुदायलाई राजनैतिक रूपमा पछाडि पार्ने काम हुँदै आइरहेको पनि उनले बताए ।
जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत सप्तरीको कंचनरूपमा बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले बहुदलीय व्यवस्था आएको ३५ वर्षमा मुलुकको अवस्था थप जर्जर भएको बताए ।
मधेस आन्दोलनका बेलामा नागरिकता समस्याको आंशिक समाधान भए पनि मधेसी समुदायमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडनमा कुनै कमी नआएको पनि उनले बताए ।
२०४६ को परिवर्तनपछि ३५ वर्षमा ३७ सरकार बने पनि सुशासन, गरिबी र बेरोजगारी हटाउनेतर्फ कुनै सम्भावना ल्याउन नसकेको यादवको आरोप छ । पछिल्लो ३५ वर्षमा कांग्रेस र कम्युनिस्टले देशलाई समस्यामा पारेको आरोप लगाउँदै उनले मुलुकमा भ्रष्टाचारीतन्त्र, कमिसनतन्त्र र लुटतन्त्र स्थापित भएको बताए ।
हरेक निकायमा कमिसनको खेल रहेको बताउँदै जसपा नेपालका अध्यक्ष यादवले बिचौलिया र कर्मचारीतन्त्र मिलेर मुलुक चलाउन खोजेको आरोप लगाए । सरकारको नेतृत्व गर्ने कांग्रेस र कम्युनिस्टले मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप लगाउँदै यादवले शिक्षा, कृषि, उद्योग, उत्पादन सबै क्षेत्रलाई पछिल्लो ३५ वर्षमा धराशयी बनाइएको आरोप पनि लगाए ।
पश्चिम नेपालबाट भारतको उत्तर प्रदेशमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग भेट्दै सप्तरी आएका अध्यक्ष यादवले भारतीय स्वतन्त्रता आन्दोलन र समाजवादी आन्दोलनमा सप्तरीको योगदानको चर्चा गरे ।
नेपालमा राणकालीन समयमा भारतीय स्वतन्त्रता आन्दोलनमा सघाउ पुर्याउन कुसहाघाट क्याम्पको चर्चा गर्दै अध्यक्ष यादवले हनुमाननगर जेल काण्डमा थुनिएका भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियालगायत नेतालाई मुक्त गराएको विषय पनि स्मरण गरे ।