बिरगंज । नेपाल प्रिमियर लिग (एनपीएल) प्रथम संस्करणका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज पचरौतामा भव्य स्वागत तथा सम्मान सहित पचास पचास हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
जनकपुर बोल्ट्सका क्याप्टेन समेत रहेका क्रिकेटर अनिल साह र सोही टीमका अर्का खेलाडी अरनिको यादवलाई पचरौता नगर प्रमुख जलन्धर सिंहले आज एक समारोहका बीच उक्त नगद राशी सहित दोसल्ला ओढाई सम्मान गरेका हुन्।
जीतको खुशीमा बुधबार पचरौताका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा समेत निकालेका हुन् ।
विजय यात्रा कोतवालीको नहर चौकबाट सुरू भएर बेनौली चोक, बेनौली गाउँ हुँदै पालिका परिसरमा स्वागत तथा सम्मान कार्यक्रम गरी समापन गरिएको छ ।
सो अवरमा नगर प्रमुख सिंहले एनपीएलको प्रथम संस्करणमा ट्रफी हात पार्न सफल भएका जनकपुर बोल्टस टिमलाई बधाई र स्वागत गर्न पाउँदा आफू गौरवान्वित भएको बताए ।
‘विजेता टोलीलाई स्वागत गर्न पाउनु पचरौतावासीका लागि गर्वको कुरा हो’ उनले भने।
नेपाल प्रिमयर लिगले क्रिकेट खेलको विकासका साथै युवाहरुलाई प्रेरणा, राष्ट्रिय एकता तथा सकारात्मक बाटोमा हिड्ने प्रेरणा र उर्जा समेत प्रदान गरेको नगर प्रमुख सिंहको भनाइ छ ।
कार्यभार सम्हालेको आर्थिक बर्ष देखि नै पचरौता नगरका खेलाडीहरुलाई तालिम, प्रतियोगिता तथा खेल सामग्रीका लागि नगद राशी सहयोग गर्दै आइरहेको र अगामी दिनमा उक्त किसिमको सहयोग निरन्तर रहने प्रतिबद्धता पुनः दोहोरयाउनु भयो।
पचरौता पालिकाले एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अभिनन्दन कार्यक्रम आयोजना गरेको थियो ।
पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बन्न सफल भएको हो।
खेलाडीहरुको स्वागत तथा सम्मानका लागि आयोजित कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बिनको अध्यक्षता तथा प्रमुख आतिथ्यता नगर प्रमुख जलन्धर सिंहको रहेको थियो भने विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत गौरी साह, वडा नम्बर ५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव, वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मी, ६ का मकबुल मियाँ अन्सारी, ८ का प्रेम चौधरी, ९ का गगनदेव यादव, अतिथिमा शिक्षा संयोजक पण्डित त्रिपाठी, शिक्षा सहायक मुकेश कुमार सिंह, नगर प्रहरी, सुरक्षाकर्मी लगायत पत्रकारका साथै ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए।
कार्यक्रम सन्चालन सबिन्दर सहनीले गरेका थिए।