कन्हैया पटेल /वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मालपोत कार्यालय चोकमा सञ्चालनमा ल्याएको स्वास्थ्य परीक्षण प्रयोगशालामा बिहीबार मेयर राजेशमान सिंहले आकस्मिक निरीक्षण गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णसहित बिहानै वीरगञ्ज – ३ स्थित प्रयोगशालामा पुगेका मेयर सिंहले त्यहाँ उपलब्ध सेवाहरू, उपकरणहरूको अवस्था तथा सञ्चालनबारे जानकारी लिएका छन् ।
निरीक्षणका क्रममा मेयर सिंहले ल्याबमा कार्यरत स्वास्थ्य प्राविधिकहरूसँग संवाद गर्दै महानगरले नागरिकलाई सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले ल्याब सञ्चालनमा ल्याएको उल्लेख गरे । उनले सेवाग्राहीको चित्त नबुझ्ने कुनै गुनासा आउन नदिन र सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिए ।
“ल्याबले दिने सेवाको स्तर उच्च राख्न र सेवाग्राहीलाई सन्तुष्टि प्रदान गर्न सबैले ध्यान दिनुपर्छ,” मेयर सिंहले भने ।
महानगरले ल्याबलाई थप प्रविधियुक्त बनाउने र सेवा विस्तारका लागि आवश्यक उपकरण तथा जनशक्ति उपलब्ध गराउने योजना रहेको जानकारी उनले दिए ।
महानगरपालिकाले ३३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चार कोठे भवनमा २०८० साल असोजदेखि ल्याब सञ्चालनमा ल्याएको हो । यस ल्याबमा हाल ५४ प्रकारका परीक्षण सेवा उपलब्ध छन् । निजी प्रयोगशालाको तुलनामा यहाँ ७५ प्रतिशत कम शुल्कमा सेवा दिइँदै आएको छ ।
उदाहरणका लागि, सीबीसी परीक्षणको शुल्क १ सय ७५ रुपैयाँ, लिभर फङ्सन टेस्टको २ सय रुपैयाँ र लिपिड प्रोफाइल टेस्टको ३ सय रुपैयाँ मात्र छ, जबकि निजी प्रयोगशालाहरूमा यस्ता सेवाका लागि ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म शुल्क लिइन्छ ।
त्यसै गरी, विशेष समूहका लागि थप सहुलियतको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, मिर्गौला पीडित, क्यान्सर पीडित, एचआइभी सङ्क्रमित, सहिद परिवार, मधेस आन्दोलनका घाइते तथा विपन्न परिवारलाई ९० प्रतिशत छुट दिइएको छ भने अपाङ्गता भएका व्यक्तिहरूका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
महानगरले स्वास्थ्य क्षेत्रमा नागरिकलाई राहत पुर्याउने उद्देश्यले ल्याब सञ्चालन गरेको र आगामी दिनमा थप सेवाहरू उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।