जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चिकित्सा शिक्षा अध्ययन पश्चात देशलाई सेवा दिने मनोभावका साथ शिक्षा लिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेश प्रदेशले पहिलो पटक अध्यापन गराउने एमबिबिएस, बिएनएस, बिएसएन, बिपिएच र बिएलएममा भर्ना भएका विद्यार्थीको स्वागतमा जनकपुरधाममा राखिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति समेत रहनु भएका उहाँले प्रतिष्ठानबाट पहिलो पटक एमबिबिएसको पढाइ सुरु भएको र प्रतिष्ठानलाई ५० जना विद्यार्थी पढाउन दिएको अनुमतिमध्ये पूर्ण छात्रबृत्तिमा पढने ३८ जना विद्यार्थीको शुल्क प्रदेश सरकारले तिर्ने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “अध्यन पश्चात विद्यार्थी देशको सेवामा जुन दिन समर्पित हुन्छ । त्यस दिन मात्र राज्यले गरेको लगानीको उपलब्धि हुन्छ ।”
मुख्यमन्त्री सिंहले प्रतिष्ठानमा अध्यनरत विद्यार्थीको मेहनतले प्रतिष्ठानको भविश्य निर्धारण हुने भएकाले मिहिनेतको साथ पढाइ गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले राजा जनकको नगरी रहेको जनकपुरधामले विश्वलाई शिक्षा दिएको भन्दै यस ठाउँमा अध्यापनका लागि आएकाहरुको भविश्य उज्वल हुने धारणा राख्नुभयो ।
उहाँले प्रतिष्ठानलाई प्रदेश सरकारको सीमित स्रोत साधनबाट गर्न सकिने सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री एवम प्रतिष्ठानका सहकुलपति शत्रुधनप्रसाद सिंहले गौरवका योजनाको रुपमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले दक्ष चिकित्सक उत्पादन गर्नमा सफल होस् भन्ने शुभकामना दिनुभयो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति अंकुर साहले प्रतिष्ठानको निर्माण गर्ने काममा सहयोग गरेकाहरुलाई धन्याद दिदै प्रतिष्ठानले प्रदान गर्ने सेवादेखि शिक्षासम्मलाई गुणस्तरीय बनाउने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार विनोदकुमार यादवले सरकारीस्तरबाट मधेश प्रदेश एमबिबिएसको पढाइ सुरु गर्ने पहिलो प्रदेश रहेको भन्दै एक वर्षभित्रमा प्रतिष्ठानको ऐन पारित गरी पदाधिकारी नियुक्तिदेखि कार्यक्रम सञ्चालन गर्नेसम्ममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल, प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन सिंह सहितले धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानमा अध्ययनका लागि आएका विद्यार्थीलाई मुख्यमन्त्री सिंह र स्वास्थ्यमन्त्री सिंहले खादा ओढाएर सम्मान गर्नुभयो ।