वीरगन्ज । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ मा अवस्थित पाडा बजारबाट सशस्त्र प्रहरीले एक ट्रक भैंसी र पाडा नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्छार छलेर अवैध रुपमा भित्रयाइएको भैंसी र पाडाहरु जगरनाथपुरको पाडा बजारबाट बिहीबार राति ट्रकमा लोड गरेर बाराको जीतपुर हुदैं काठमाडौं पठाउने तयारी भइरहेको सूचना स्थानीयबासीले सशस्त्र प्रहरीलाई दिएका थिए । त्यहि सूचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भीखमपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश गुरुङको नेतृत्वमा खटिएको टोलीले ना ७ ख ६२८० नम्बरको ट्रकमा लोड गरिएका भैंसी र पाडासहित दुई जना मानिसलाईपनि नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उक्त ट्रकमा ११ वटा भैंसी र ९ वटा पाडा रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक गुरुङले जानकारी दिए । नियन्त्रणमा लिइएका दुई जना व्याक्ति चरवाहा रहेकाले उनिहरुको नाम भने सशस्त्र प्रहरीले खुलाएको छैन ।
भारतबाट भन्सार राजश्व छलेर अवैध रुपमा भित्रयाइएको आशंकामा भैंसी र पाडासहितको उक्त ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक गुरुङले बताए । नियन्त्रणमा लिइएका भैंसी र पाडा जीतपुरका कारोबारी सदाब हुसेनको रहेको अनुसन्धानका क्रममा खुलेको गुरुङले बताए ।
नियन्त्रणमा लिइएको भैंसी र पाडासहितको ट्रक आवश्यक कारबाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी उनले दिए ।
सशस्त्र प्रहरीले पाडा बजारबाट बिहीबार राति एक ट्रक भैंसी र पाडा नियन्त्रणमा लिएपनि अन्य दुर्ई वटा ट्रक भने सशस्त्र प्रहरी आउनुभन्दा पहिले नै भैंसी र पाडा लोड गरेर भाग्न सफल भएको जगरनाथपुरका स्थानीयले बताएका छन् ।
स्थानीय एक व्याक्तिले भने,‘ पाडा बजारमा राति तीन वटा ट्रकमा तस्करीको १ सय भन्दा बढी पाडा र भैंसीहरु लोड हुदैं थियो । त्यो खबर हामीले सशस्त्र प्रहरीलाई दियौं ।तर सशस्त्र प्रहरी आउनु भन्दापहिले नै दुई वटा ट्रकहरु भैंसी र पाडाहरु लोड गरेर भागे । एउटा ट्रकमात्र समातियो ।’
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएको भैंसी र पाडासहितको ट्रक छुटाउनका लागि जगरनाथपु्र गाँउपालिकाका केहि वडाध्यक्षहरुले चलखेल गरिरहेको ती व्याक्तिले बताए । ती व्याक्तिले भने,‘एक जना वडाध्यक्ष भैसी र पाडा छुटाउन वडा कायालयबाट फर्जि सिफारिसको पत्र बनाएर भन्सार कार्यालयमा पुगेको खबर छ ।’