जनकपुरधाम । मधेसमा सरकारी स्तरबाटै चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) को अध्ययन, अध्यापन सुरु भएको छ। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुस २५ गते देखि एमबीबीएसको अध्ययन÷अध्यापन सुरु गरेको हो। चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्रमा एमबीबीएसका लागि ५० सिट निर्धारण गरेको थियो। त्यससँगै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक अध्यापन थालेको हो।
सरकारीस्तरबाट पहिलोपटक चिकित्साशास्त्रतर्फ अध्ययन–अध्यापन सुरु भइसकेको प्रतिष्ठानका रजिस्ट्रार डा. विनोदकुमार यादवले जानकारी दिए। उनले ५० सिटमध्ये ७५ प्रतिशत पूर्ण छात्रवृत्तिका लागि छुट्ट्याइएको जानकारी दिए। ‘छात्रवृत्तिमा मधेस प्रदेशका बहुसंख्यक विद्यार्थीले अवसर पाएका छन्,’ उनले भने, ‘ मधेस प्रदेशका लागि यो कोसेढुंगा सावित हुने विश्वास छ। एमबीबीएसको पढाइ सञ्चालन धेरै महŒवपूर्ण जिम्मेवारी हो।’
एमबीबीएसको अध्ययन÷अध्यापन सुरु भएसँगै प्रादेशिक राजधानी जनकपुरधामलगायत मधेस प्रदेशको स्वास्थ्य सेवामा समेत गुणात्मक सुधार आउने प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुनप्रसाद सिंह बताउँछन्। ‘हाम्रो जनशक्ति अभावको समस्यालाई अब प्रतिष्ठानले पूरा गर्छ,’ सिंहले भने, ‘स्वास्थ्य क्षेत्रमा सोचेभन्दा धेरै फड्को मार्नेछौं।’
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले एमबीबीएस तहको जनशक्ति उत्पादन बढेपछि जनकपुरधाम शिक्षाको हब बन्ने विश्वास व्यक्त गरे। ‘एमबीबीएस पठनपाठन सुरु गराउन आवश्यक तयारी गरेकोमा मुख्यमन्त्री सतिश सिंहसहित प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह, रजिस्ट्रार डा. विनोद यादवलगायतलाई बधाई छ,’ उनले भने।
यसरी सम्भव भयो प्रतिष्ठान
व्यवस्थापनको अभावमा अस्पताल दुर्गन्धित थियो। अस्पतालका डेलिभरी, सर्जिकल, ओपीडीलगायत सबै कक्ष फोहोर थिए।
बिरामीहरू नाक थुनेर उपचार गराइरहेका हुन्थे। अस्पताल दुर्गन्धित बन्दै गए पनि सफा राख्न प्रशासनले चासो दिँदैन्थ्यो। अस्पतालको शौचालय पनि फोहोर हुन्थ्यो। शौचालय जान सक्ने अवस्था थिएन। फोहोरका कारण अस्पताल नै रोगी जस्तो देखिन्थ्यो।
स्वास्थ्यकर्मी पनि अस्पताल फोहोरले दुर्गन्धित बनेको गुनासो गर्थे। तैपनि कसैले वास्ता गर्दैनथे। अस्पताल सफा राख्न स्विपर, कार्यालय सहयोगी थिए। खर्च पनि हुन्थ्यो तर खर्चअनुसार काम हुँदैन्थ्यो। धेरैलाई अस्पतालको सेवाप्रति भरोसा नभएर हुन सक्छ। बिरामी पर्दा प्रायःजसो धरान, विराटनगर, काठमाडौं र छिमेकी मुलुक भारतको दरभंगा, पटना अस्पताल पुग्थे।
केही वर्षअघिसम्म रेफर अस्पताल भनेर चिनिने जनकपुर अञ्चल अस्पताल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहत प्रादेशिक अस्पताल बन्यो। त्यसपछि क्रमिक सुधारले मधेस प्रदेशकै नमुना अस्पतालको रूपमा विस्तार भएको प्रतिष्ठानका रजिस्ट्रार डा. यादव बताउँछन्। के–के भए परिवर्तन ?
पुराना र खिया लागेर फालिएका शय्या, लकर टेबुल, कुर्सीलगायतका समानलाई सफा गरेर रंगरोगन गरिए। अस्पतालभित्र असरल्ल छरिएका पुराना बेड तथा अन्य सामग्री मर्मतसम्भार गरी नयाँ प्रारूपमा ढालिएको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. यादव बताउँछन्।
बिरामीको चापले कोचाकोच हुने र बिरामीले शय्या पाउन मुस्किल हुने समस्या थियो। पुराना बेडहरूलाई नयाँ प्रारूपमा ढालेर उपकरणको व्यवस्था गरिए। सेवा सुविधा बढेपछि अस्पतालले जनताको विश्वास बटुल्न थाल्यो। त्यसैकारण बिरामीको चाप बढ्न थालेको रजिस्ट्रार डा. यादवको दाबी छ। अञ्चल अस्पताल भएको बेलामा मुस्किलले दैनिक दुई सय जना बिरामी आउने अस्पतालमा हाल दैनिक आठ सय बिरामी पुग्ने उनको भनाइ छ। अहिले अस्पताल दुई सय शय्याबाट लगभग चार सय शय्याको भएको छ। विशेषज्ञ सेवा २० बाट ५५ पुगेको छ।
दैनिक दुई सय बिरामी आउने गरेकोमा हाल नौ सय जति दैनिक बिरामी आउनुले पनि अस्पतालको सेवामा सुधार भएको मान्नुपर्ने अस्पतालका निर्देशक डा. जामुन सिंह बताउँछन्। ‘दर्जनौं सेवा थपिएका छन्,’ डा. सिंह भन्छन्, ‘क्यान्सर ओपीडी, एनआईसी, आँखा विभाग, न्युरो सर्जरी, युरोलोजी, नेट्रोलोजीलगायतका सेवा विस्तार गरिएका छन्।’ अस्पतालमा बायोमेट्रिक हाजिर प्रणालीले सेवालाई चुस्तदुरुस्त बनायो। टोकन सिस्टम र माइकिङजस्ता काम भइरहेको निर्देशक सिंहको भनाइ छ।
ल्याबलाई हाल चौबिसैघण्टा सञ्चालन गर्न थालिएको छ। लेप्रोस्कोपी मेसिन सञ्चालनमा छ। गम्भीर प्रकृतिका शल्यक्रिया गर्न तीन मोडुलर ओटी कक्ष सञ्चालनमा छन्। आफूले जिम्मेवारी सम्हाल्नासाथ अस्पतालको दुरवस्था बदल्न शौचालयको सरसफाइ र ढोकाहरू फेर्ने कामबाट थालनी गरेको रजिस्ट्रार डा. यादवले बताए। बिरामी सहजताका लागि अस्पतालभित्रै अक्सिजन उत्पादन हुने प्लान्ट पनि जडान गरिएको उनले बताए। आईसीयू र एचडीयू बेडसहित एक सय शय्याको अस्पताल सञ्चालनमा छ। अस्पतालको साख र स्तरलाई माथि उठाउन दिनरात काम गर्नुपरेको डा. यादवले बताए। ‘संस्था राम्रो बनाउन सकिन्छ भन्ने लक्ष्यका साथ काम गर्दा प्रदेशकै उत्कृष्ट अस्पताल बनाउन सक्यौं,’ उनले भने। जनतालाई राहत, अवसरमा चुनौती प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले प्रदेश अस्पताललाई राम्रो बनाउन चुनौतीसँग जुध्नु परेको बताए। ‘धेरैले आक्षेप पनि लगाए। तर हिम्मत हारिएन। चुनौतीलाई अवसरको रूपमा लिइयो, जसले जे भन्यो त्यसैको पछि नेतृत्वकर्ता लाग्नु हुँदैन। त्यस्तो गर्न थाल्यो भने संस्थालाई राम्रो हुँदैन।’ मधेस स्वास्थ्य विज्ञान प्रष्तिठान स्थापनासँगै पहिलो वर्षमा स्नातक तहको चार विधामा कार्यक्रम सञ्चालन भइरहेको छ। जसमा बीएनएस, बीएस्सी नर्सिङ, बीपीएच, बीएस्सी एमएलटीको कक्षा सञ्चालन भइरहेका छन्। त्यसैगरी स्नातकोत्तर तहतर्फ एमडी इन् अब्सट्रेटिक्स एन्ड गाइनोक्लोजी, एमडी इन् पेडियाट्रिक्स, एमडी इन् इन्टरनल मेडिसिन र एमडी इन् जनरल सर्जरीमा अध्ययन–अध्यापन हुँदैछ।
त्यसैगरी अध्ययन अनुसन्धानतर्फ ट्रेनिङ वर्कसप अन हेल्थ रिसर्च मेथोडलोजी, ट्रेनिङ म्यानेजमेन्ट अन डेटा अनालाइसिसलगायतका अनुसन्धानात्मक प्रयोगहरू भइरहेको सूचना प्रविधि अधिकृत वीरेन्द्र साहले जानकारी दिए।