रौतहट । गौर नगरपालिका–२ स्थित जुद्धमाविको छात्राबास भवन निर्माण १९ वर्षदेखि अलपत्र छ । मधेश आन्दोलन, भूमिगत संगठनको दबाब र मूल्यबृद्धिको बाहना बनाउँदै ठेकेदारले निर्माण रोकेर जिल्ला छाडेपछि भवन निर्माण अलपत्र परेको हो । ठेकेदार भागेपछि अब कसले बनाउने भन्ने अन्यौल छाएको छ ।
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन छात्रबास भवन काम सम्पन्न नहुँदै जीर्ण बनेको छ । छात्रावास भवन नभएपछि यहाँ विद्यार्थीको संख्या घट्दो छ। जुद्ध मावि राणाकालमा स्थापना भएको जिल्लाकै पुरानो विद्यालय हो । विद्यार्थीको चाप बढेर ग्रामीण भेगबाट होस्टल खोज्दै आउन थालेपछि स्थानीयको पहलमा दुताबासले छात्रावास बनाउन आर्थिक सहयोग गरेको थियो। तर लामो समयसम्म निर्माण नसकिँदा शिक्षक, विद्यार्थी र अभिभावक निराश छन् ।
ठेक्का रद्द भइसकेको अवस्थामा भवन कसले बनाउने भन्ने अन्यौल छाएको छ । दूतावासको १ करोड ९८ लाख ८० हजार सहयोगमा बन्न लागेको छात्रावास भवनको काठमाडौंको गोर्खा, स्काई र क्यानिजियो कन्ट्रक्सन जेभीले संयुक्त रुपमा ठेक्का लिएका थिए। भवनको सम्झौता ०६२ पुष १४ गते भएको हो ।
सोही वर्ष काम सुरु गरी ०६४ असार १३ गतेभित्र सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने समय तोकिएको थियो । ठेकेदारले मूल्यबृद्धि, मधेश आन्दोलन, भूमिगत समूहको चन्दा आतंकलगायत बिभिन्न बहाना बनाएर बीचैमा निर्माणको काम रोके पछि १९ वर्षदेखि भवन अलपत्र छ । यस बीच विद्यालय प्रशासनले ठेकेदार कम्पनीसित पटक/पटक सम्पर्क गरेको थियो ।
उनीहरु सम्पर्कमा नआए पछि भवन निर्माणको आश मरेको विद्यालयका प्रधानाध्यापक प्रभाषकुमार ठाकुरले बताए । ‘अब भवन बन्छ भन्ने कुनै ग्यारेन्टी छैन । अलपत्र भवन बनाउने पहल हुनु जरुरी छ,’ उनले भने, ‘गरिब जेहेन्दार विद्यार्थीको होस्टलमा बसेर पढ्ने सपना अधुरो जस्तै भएको छ ।’
ठेकेदारले निर्माणको काम छाडे पछि तत्कालीन जिल्ला विकास समितिले रेखदेखको जिम्मा लिएको थियो । समितिले निर्माण पूरा गर्न पटक/पटक ताकेता गरे पनि ठेकेदारले अटेर गरे पछि तत्कालीन जिविसले २०६९ फागुन ५ गते ठेक्का तोडेर हर्जानासहित कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको थियो । ठेकेदारले मूल्य समायोजनको माग अघि सारे पनि सम्पर्कमा नआएपछि २०७० मा ठेक्का रद्द गरेको गौर नगरपालिकाले जानकारी दिएको छ ।
नगरप्रमुख शम्भु साह र भारतीय महावाणिज्य दूतावास वीरगन्जका काउन्सिलर देवीसराय मिना बीच केही दिनअघि भवन निर्माण सम्पन्न गर्ने विषयमा छलफल भएको थियो । ‘अहिले नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ । यसबाट के कति काम गर्न सकिन्छ,’ नगरप्रमुख साहले भने,‘सकेसम्म पूरा गर्ने योजना बनाएका छौं । बजेटले भ्याएसम्मको काम गर्छौं ।’ दूतावासले सहयोग गर्ने मनसाय राखे पनि ठेकेदारको कामप्रति सन्तुष्ट देखिएको छैन ।
नगरपालिकाले जिल्ला समन्वय समितिसित ठेक्काको सबै कागज मगाइसकेको जनाएको छ । महावाणिज्यदूतावास कार्यालयले निर्माण सम्पन्न गर्ने विषयमा समन्वय समिति र ठेकेदारलाई पटक/पटक पत्राचार गर्दै आएको थियो । दूतावासले भवन निर्माणका लागि ७० लाख पेश्की समेत दिइसकेको छ । ठेकेदारले ५१ कोठाको ३ तल्ले भवन निर्माण गर्नुपर्नेमा पहिलो तला नै अधुरो छाडेको छ ।
ठेकेदारले, क्यान्टिन भवन र कम्पाउण्डवाल समेत निर्माण गर्नुपर्ने थियो । भवन बनेको भए झण्डै १ सय भन्दा बढी विद्यार्थीले बस्ने सुविधा पाउँथे । भवनको अहिलेसम्म ३५ प्रतिशतमात्र काम भएको छ । निर्माणस्थलमा ठेकेदारले राखेको रड खिया लागेर कामै नलाग्ने भएको छ भने सयौं बोरा सिमेण्ट सडेको छ ।
ठेक्का रद्द भए पछि निर्माणस्थलमा ठेकेदारका कोही पनि प्रतिनिधि छैनन् । नयाँ भवन बन्ने भनिए पछि उसैबेला पूरानो जीर्ण भवन भत्काइएको थियो । भवन बनाउन ल्याएका इँट्टालगायतका समाग्री कुहिन थालेको छ । जीर्ण भवनको झ्यालमा झार उम्रेको छ । भवनभित्र लागूऔषध सेवनकर्ताको अखडा बनेको स्थानीय एक युवकले बताए ।