काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई हिरासतमा पठाइएको छ। थुनछेक बहस नभएपछि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई हिरासतमा पठाउन आदेश दिएको हो। थुनछेक बहसका लागि प्रहरीले उनलाई भोलि अदालतमा पुन: उपस्थित गराउनेछ ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान सकिएको छ। बयान सकिएपछि इजलासबाटै उनलाई प्रहरीको जिम्मा लगाइएको हो।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका लामिछाने आज बिहान अदालतमा उपस्थित भएका थिए।। कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछन्। उनीविरुद्ध चितवन,रुपन्देही र पर्सामा पनि सहकारी ठगीमा मुद्दा दायर भइसकेको छ। त्यहाँ यसअघि उनीसँग अनुसन्धान अधिकृतले बयान लिइसकेका छन्।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा छु्टेपछि बिहीबार पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका हुन् । उनीसँगै छविलाल जोशी,रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। लीला पछाईँ भने धरौटी बुझाउन नसकेपछि कारागारमै छिन्।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा,कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३९ जनालाई प्रतिवादी कायम गरिएको छ।
उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।
यस अगाडि कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा काठमाडौं जिल्ला अदालतको आदेशपछि मंगलबार रिहा भएका हुन्।