वीरगञ्ज । स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्जमा कार्यरत पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको आइतबार बसेको बैठकले पत्रकार श्रेष्ठलाई स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।
लामो समयदेखि पत्रकारितामा क्रियाशील कान्तिपुर टेलभिजनमा कार्यरत श्रेष्ठलाई यो पुरस्कार दिने निर्णय गरिएको पत्रकार महासंघ पर्साका उपाध्यक्ष भूषण यादवले जानकारी दिए ।
उनका अनुसार यो पुरस्कार बर्सेनी माघ १ गते वितरण हुँदै आएको छ ।
यसअघि यो पुरस्कार पर्साका पत्रकारहरु महेश दास , गया यादव , शत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, विजय भण्डारी, प्रताप श्रेष्ठलगायतकाले पाइसकेका छन् ।
पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष भूषण यादव , कोषाध्यक्ष सञ्जीव मिश्रालगायत कार्य समिति सदस्यहरुको उपस्थिति थियो । वीरगञ्जको मेयर भएका वेला तत्कालीन माओवादी विद्रोहीले वरिष्ठ पत्रकार गिरीको हत्या गरेका थिए ।