कृत्रिम बौद्धिकता (एआई) टुलको प्रयोग गरेर एक नेपाली युवाले ‘महाभारत’को आकर्षक ट्रेलर बनाएका छन् । उनको यो प्रयत्नले सामाजिक संजालमा चर्चा बटुलिरहेको छ ।
२ मिनेट रनटाइमको ट्रेलर व्यवसायिक ट्रेलर सम्पादकले बनाएको भन्दा कम छैन । नेपाली युवा मौसम पुरीले बनाएको महाभारतको ट्रेलरलाई यतिबेला सामाजिक संजालमा ब्यापक सेयर गरिएको छ ।
झण्डै ३० घण्टा र ३०० अमेरिकी डलर खर्च गरेर पुरीले बनाएको ट्रेलरको यतिबेला चर्चा छ । उनले महाभारतको कुरुक्षेत्रको लडाइदेखि महत्वपूर्ण घटनाक्रमलाई ट्रेलरमा समेटेका छन् ।
ट्रेलर बनाउन उनले प्रिमियम एआई टुल मिडजर्नी, क्लिङ एआई र फ्लक्स एआई प्रयोग गरेका छन् । स्क्रिप्ट लेख्न उनले च्याटजिपिटको पनि प्रयोग गरेका छन् । मिनिम्याक्स र क्लिङ टूलमार्फत भ्वाइसओभरमा समेत काम गर्ने उनको योजना छ ।
‘ यस परियोजनाले कसरी एआईले युट्युवजस्ता प्लेटफर्मका लागि सामग्री निर्माणमा क्रान्तिकारी परिवर्तन गर्न सक्छ, उत्पादन प्रक्रियालाई अप्टिमाइज गर्दै कथा कथनलाई बढावा दिन्छ’ ट्रेलर सेयर गर्दै पुरीले लेखेका छन्, ‘ यी क्षेत्रमा एआईको प्रयोग भर्खरै सुरु हुँदैछ । चलचित्र उद्योग र त्यो भन्दा परको भविष्य आशाजनक छ, जसले काम गराईलाई सुव्यवस्थित गर्न र रचनात्मक विचारलाई बढावा दिन नयाँ तरिका प्रदान गर्दछ ।’
पोखरा घर भएका पुरी सूचना प्रविधि व्यवसायसँग आबद्ध छन् । उनी हेलो लोकसेवा इन्स्टिच्युटका संचालक समेत हुन् । उक्त प्लाटफर्ममार्फत लाइभ क्लास संचालन गर्छन् । ट्रेलर सार्वजनिक गरेपछि अहिले पुरीलाई फिल्ममेकिङको समेत प्रस्तावहरू आउन थालेको छ ।
यसबारे उनी भन्छन, ‘म फिल्म उद्योगको पनि होइन । मलाई यसबारे जिरो नलेज छ । नयाँ आइडिया सोचेको छु बनाउनको लागि । आइडिया निखार्न जरुरी छ । प्रस्ताव आए काम गर्न सकिन्छ ।’ उनले कम खर्चमा ‘बाहुबली’जस्ता फिल्म र हलिउडको कन्टेन्ट लेभलका फिल्म बनाउन सकिने पनि बताए ।
‘कम खर्चमा बाहुबली लेभलको फिल्म बनाउन सकिन्छ नेपालमा । यसको सम्भावना छ । हलिउड लेभलको कन्टेन्ट बनाउन सकिन्छ’ उनले भने । पुरीले जर्मनीमा स्नातकोत्तर तहमा ‘अप्लाइड म्याथम्याटिक्स इन डिजिटल मिडिया’ अध्ययन गरेका छन् । उनी सन् २०१८ मा नेपाल फर्किएर अहिले सूचना प्रविधि क्षेत्रमा क्रियाशिल छन् ।