वीरगन्ज । पर्साको जानकी टोलदेखि रौतहटको गण्डक नहरको ३ नम्बर ब्लकसम्म फैलिएको नेपाल गण्डक सडकमा रहेका पुल जीर्ण अवस्थामा पुगेपछि यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।
पर्सादेखि रौतहटसम्म ८१ किलोमिटर लामो नेपाल गण्डक सडक कालोपत्रे भएपछि सवारीसाधनको चाप बढेको छ । सवारीसाधन बढे पनि जीर्ण पुल मर्मतसम्भार नगरिएकाले यात्रा जोखिमपूर्ण भएको हो । पर्सा, बारा र रौतहट जिल्ला जोड्ने हुलाकी सडकको एक मात्र विकल्पका रूपमा यो सडक रहेको छ ।
सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको गण्डक नहरको उक्त सडक अहिले फराकिलो भएपछि ठुला सवारीसाधन चल्न थालेका हुन् । यहाँका जीर्ण पुल भएर पछिल्ला दिनमा गरिने यात्रा जोखिमपूर्ण रहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका प्रमुख मनोजप्रसाद पटेलले बताउनुभयो ।
उहाँले पुल मात्र नभई समग्रमै तीन वटै जिल्लाको नहर प्रणाली जीर्ण भइसकेकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “नहर र तिनका अधिकांश संरचनाको सरदर आयु ५० वर्ष हो, अहिले करिब ४५ वर्ष भइसकेको छ ।” नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकृत एवं इन्जिनियर सुरेशप्रसाद साहले पर्सा बारामा नहरको एप्रोच सडकमा रहेका २२ मध्ये तीन पुल अत्यन्त जीर्ण भएको बताउनुभयो । एउटा पुल त भासिइसकेकाले यातायातमा समस्या नआओस् भनी डाइभर्सन बनाइएको जानकारी उहाँले दिनुभयो ।
पहिले गण्डक नहरको एप्रोच सडक कार्यालयले आफ्नो निजी प्रयोजनका लागि मात्र यसको प्रयोग गर्दै आएकोमा राजनीतिक परिवर्तनपछि सर्वसाधारणको प्रयोगका लागि यो सडक खुला गरिएको थियो । एप्रोच सडक अत्यधिक प्रयोग हुन थालेपछि त्यसमा रहेका पुलको सामान्य मर्मतसम्भारसमेत गरिएको छैन । त्यसैले पुलहरूको अवस्था नाजुक बनेको छ ।
तिलाबे खोलाको पुल भासिएको छ भने सिर्सिया र बङ्गरी खोलाको पुलमा सडक सुधार परियोजनाले सडक कालोपत्रे गर्ने क्रममा सामान्य मर्मत गरी सञ्चालनमा ल्याएको थियो । फेटाचोक, कोतवाली नहर र ओरियाखोलाको पुल तत्कालै मर्मतसम्भार नगरिए जुनसुकै बेला ठुलै जोखिम आउन सक्ने प्रमुख पटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो कार्यालयसँग पुल मर्मतसम्भार तथा निर्माण प्रयोजनका लागि छुट्टै बजेट छैन । हामीले नहर प्रणालीको सञ्चालन र मर्मतसम्भारको मात्र जिम्मेवारी वहन गरेका छौँ । एप्रोच सडक अहिले नेपाल गण्डक राजमार्ग बनेपछि सडक विभाग अन्तर्गत भयो, जे गर्ने हो सडक विभागले गर्छ ।” उहाँले थप्नुभयो, “अहिले भासिएको तिलाबे पुलको छेवैमा भुइँमा नहरको अन्डरग्राउन्ड संरचना छ । पुल भत्किएर त्यस संरचनामाथि परेर नफुटोस् भनी डाइभर्सन बनाएका हौँ ।”
पर्साको जगरनाथपुर क्षेत्रमा डेढ दशकयता औद्योगिकीकरण तीव्र रूपमा विस्तार भएकाले नेपाल गण्डक राजमार्गमा दैनिक ठुलो सङ्ख्यामा मालवाहक सवारीसाधन चल्ने गर्छन् ।