अमेरिकामा टिकटक प्रतिबन्धको सम्भावना बढेसँगै ‘रेडनोट’ नामक एप अमेरिकी एपस्टोरमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । सोमबार यो एप अमेरिकी एपस्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको निःशुल्क एपको रूपमा शीर्ष स्थानमा पुगेको हो ।
टिकटकमाथि प्रतिबन्धको खतरा बढेसँगै अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ता चिनियाँ सामाजिक सञ्जाल एप सियाओहोङ्सु (रेडनोट पनि भनिन्छ) मा ठूलो सङ्ख्यामा आकर्षित भएका छन् । यसले गर्दा यो अमेरिकी एप्पल एप स्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको एप बनेको छ ।
एनबीसी न्यूजका अनुसार रेडनोट यो सोमबार एप्पल एप स्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको नि:शुल्क एप बनेको छ । त्यसपछि सबैभन्दा बढी डाउनलोड हुनेमा टिकटकको सिस्टर एप लेमन एट रहेको छ । यसले मङ्गलबार पनि सबैभन्दा धेरै डाउनलोड गरिएको एपको रूपमा आफ्नो स्थान कायम राखेको छ ।
प्रयोगकर्ताले टिकटक आगामी आइतबार प्रतिबन्धित भएमा रेडनोटमा स्विच गर्ने बताएका छन् । टिकटक १९ जनवरीमा प्रतिबन्धित हुने सम्भावना उच्च छ । अमेरिकी कानुनले यस प्लेटफर्मलाई चीनमा रहेको यसको अभिभावक कम्पनी बाइटडान्ससँगको सम्बन्ध तोड्न वा अमेरिकी कार्य सञ्चालन बन्द गर्न बाध्य पारेको छ । यद्यपि यो शर्ट भिडियो एपलाई अमेरिकी सर्वोच्च अदालतले अन्तिम समयमा राहत दिन सक्ने अनुमान गरिएको छ ।
रेडनोट एउटा यस्तो एप हो जसले छोटो भिडियोलाई ई-कमर्ससँग जोड्छ । यो चीनमा सन् २०१३ मा स्थापना भएको थियो । यो एप चीन, मलेसिया र ताइवान जस्ता चिनियाँ डायस्पोरा भएका अन्य क्षेत्रहरूमा लोकप्रिय छ । ती देशमा यस प्लेटफर्मका ३० करोड मासिक सक्रिय प्रयोगकर्ता छन् ।
एसोसिएटेड प्रेसका अनुसार यसका धेरैजसो प्रयोगकर्ता युवा महिलाहरू छन् जसले यसलाई उत्पादन, यात्रा र रेस्टुरेन्ट रिकमेन्डेसनका साथै मेकअप र स्किनकेयर ट्युटोरियलका लागि प्रयोग गर्ने गर्छन् ।
केहीले टिकटकमा प्रतिबन्ध लागेमा मेटाको स्वामित्वमा रहेका इन्स्टाग्राम र फेसबुक जस्ता एपहरू पनि विरोध स्वरूप प्रयोग गर्न बन्द गर्ने बताएका छन् । एनबीसीका अनुसार मेटाले सन् २०२२ मा टिकटकलाई बदनाम गर्न रिपब्लिकन लबिङ फर्मलाई पैसा तिरेको थियो र टिकटक प्रतिबन्ध लागू भएमा नयाँ प्रयोगकर्ताहरू प्राप्त गर्ने सम्भावना छ । पछिल्ला केही दिनदेखि रेडनोटमा अमेरिकी प्रयोगकर्ताहरूको बाढी आएको छ ।