काठमाडौं । पाँच महिनामा देशका विभिन्न जिल्लामा १ हजार १ सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट १ सय ४५ जना घाइते भएका जानकारी दिए । उनका अनुसार आगलागीबाट १ सय ९० घर, १ सय ३० गोठ, एउटा सरकारी कार्यालय र ४ सय ५५ पशुचौपायको क्षति भएको छ ।
आगलागी नियन्त्रणका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगलागीबाट करिब ५० करोड रुपैयाँ बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए ।
सबैभन्दा बढी कोशी प्रदेशमा तीन सय ३१ स्थानमा आगलागी भएका छन् । प्रहरीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा दुई सय ६९, बागमतीमा ७०, काठमाडौं उपत्यकामा एक सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा एक सय १४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएका छन् ।
दैनिकरूपमा आगलागीका घटना भइरहेका भन्दै हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती आगलागीबाट दुईजना घाइते भएका प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।
दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानीलगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए ।