काठमाण्डाै । नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११औं स्थानमा रहेको विभिन्न अध्ययनहरूले जनाएका छन् । तातो अर्धतरल सतहमाथि तैरिइरहेका इन्डियन प्लेटहरू र युरोसियन प्लेटहरु आपसमा टकराब हुँदा हिमालय क्षेत्रको जमिनमुनि शक्ति थुप्रन्छ । त्यही शक्ति बाहिर निस्कन भूकम्प जाने विज्ञहरू बताउँछन् ।
आठ सय वर्षको इतिहासलाई हेर्दा कहिले सानो भूकम्प आएर जिस्काउँछ । कहिले मझौला भूकम्पले तर्साउँछ । पटक पटक ठूलो भूकम्पले विध्वंस मच्चाएको छ ।
आठ सय वर्षयताका ठूला भूकम्पहरूको नालीबेली हेर्नुहोस्–
१) विसं १३१२ को भूकम्प (सन् १२५५)
यसभन्दा अगाडिको भूकम्पको कुनै अभिलेख नभए पनि विसं १२१८ मा गएको भूकम्पलाई भने पहिलो अभिलेख रहेको भूकम्प मानिन्छ । काठमाण्डौ केन्द्रविन्दु रहेको ७ दशमलव ८ म्याग्निच्युडको यस भूकम्पमा परि त्यस बेलाका राजा अभय मल्लको निधन भएको थियो । भूकम्पमा परेर २२ सय जना मानिसले ज्यान गुमाएका थिए । काठमाण्डौको त्यस बेलाको एक तिहाइ जनसङ्ख्याले भूकम्पका कारण मृत्युवरण गर्नुपरेको थियो ।
२) विसं १३१७ को भूकम्प (सन् १२६०)
सगरमाथा अञ्चल केन्द्रविन्दु भएर गएको यस भूकम्प ७ दशमलव १ म्याग्निच्युडको थियो । भूकम्पमा परि एक सय जनाले ज्यान गुमाएका थिए । भूकम्पकाे केन्द्रविन्दु सगरमाथा अञ्चलको कुन ठाउँ हाे भन्ने बारेमा भने जानकारी छैन ।
३) विसं १४०१ को भूकम्प (सन् १३४४)
७ दशमलव ९ म्याग्निच्युडको यस भूकम्पमा परि एक सय जनाले ज्यान गुमाएका थिए । भूकम्पको केन्द्रविन्दु पूर्वी नेपालको मेची अञ्चल रहेको थियो ।
४) विसं १४६५ को भूकम्प (सन् १४०८)
नेपाल–तिब्बतको सीमा केन्द्रविन्दु भएर गएकाे यस भूकम्प ८ दशमलव २ म्याग्निच्युड रहेको थियो । भूकम्पमा परेर त्यस बेला २५ सय जनाले ज्यान गुमाएका थिए ।
५) विसं १५६२ को भूकम्प (सन् १५०५)
मुस्ताङ केन्द्रविन्दु भएर गएको विसं १५६२ को भूकम्प ८ दशमलव ९ म्याग्निच्युडको थियो । यो नै नेपालको इतिहासमा सबैभन्दा ठूलो भूकम्प मानिन्छ । भूकम्पका कारण त्यस बेला ६ हजार जनाको ज्यान गएको थियो । त्यस बेलाको जनसङ्ख्याको झन्डै ३० प्रतिशत मानिसले यही भूकम्पका कारण ज्यान गुमाएका थिए । भूकम्पको प्रभाव दक्षिणी चीन तथा भारतको उत्तरी भागमा पनि परेको थियो ।
६) विसं १७३८ (सन् १६८१)
कोशी अञ्चल केन्द्रविन्दु भएर गएको ८ म्याग्निच्युडको यस भूकम्पले त्यस बेला ४५ सय मानिसको ज्यान गएको थियो । तथ्याङ्क नभएका कारण कोशी अञ्चलमा कहाँ भूकम्पको केन्द्रविन्दु थियो भन्ने यकिन गर्न सकिँदैन ।
७) विसं १८२४ (सन् १७६७)
बाग्मती अञ्चलको उत्तरतर्फ केन्द्रविन्दु भएको यस भूकम्पले पनि ठूलो मानवीय क्षति पुर्याएको देखिन्छ । ७ दशमलव ९ म्याग्निच्युडको भूकम्पका कारण त्यस बेला ४ हजार मानिसको ज्यान गएको थियो ।
८) विसं १८९० (सन् १८३३)
ठूलो भूकम्प भन्ने बित्तिकै हामीकहाँ धेरैलै विसं १९९० को भूकम्प सम्झने गर्छन् । तर त्यसको ठीक एक सय वर्ष अगाडि पनि त्यत्तिकै ठूलो ८ म्याग्निच्युडको भूकम्प आएको थियो । याे भूकम्पकाे केन्द्रविन्दु काठमाण्डौ उपत्यकाको वरपर रहेको थियो । भूकम्पले नेपालका गाउँ, शहरमा धेरै ठूलो क्षति भएको थियो । त्यस्तै उत्तरी भारत तथा तिब्बतमा पनि भूकम्पले धेरै क्षति गरेको थियो । बङ्गलादेशको चित्तगाउँमा पनि भूकम्पको धक्का महसूस भएको थियो । भूकम्पका कारण ६ हजार ५ सय जनाले ज्यान गुमाएका थिए । याे भूकम्पले भक्तपुर, साँखु र बनेपामा ठूलो क्षति भयो ।
९) विसं १९२६ (सन् १८६९)
काठमाण्डौ केन्द्रविन्दु रहेको यस भूकम्पका कारण ७ सय ५० जनाको ज्यान गएको थियो । भूकम्प ६ दशमलव ५ म्याग्निच्युडकाे मापन गरिएको थियो ।
१०) विसं १९७३ (सन् १९१६)
विसं १९७३ मा गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पले त्यस बेला ३ हजार ५ सय जनाकाे ज्यान गएको थियो । भूकम्पको धक्का तिब्बतसम्म पनि महसूस गरिएको थियो ।
११) विसं १९९० (सन् १९३४)
नेपालको इतिहासमा विसं १९९० माघ २ गते गएको भूकम्पलाई सबैभन्दा विनाशकारी भूकम्पको रूपमा लिइन्छ । सङ्खुवासभाको चैनपुर केन्द्रविन्दु भएर गएको ८ दशमलव ३ म्याग्निच्युडकाे भूकम्पमा ८ हजार ५ सय ९१ जनाको ज्यान गएकाे थियाे । घर, विद्यालय, मन्दिर, पाटीपौवा र सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
भूकम्पको प्रभाव भारतको बिहार, कोलकाता, मुम्बई तथा तिब्बतमा पनि परेको थियो । कोलकातामा पनि धेरै घरहरू भत्किएका थिए । बिहारको सीतामढीका कुनै घर सद्दे थिएनन् । बिहारमा भूकम्पले ७ हजार २ सय ५३ जनाको ज्यान गएको अभिलेख छ ।
१२) विसं २०२३ (सन् १९६६)
सुदूरपश्चिममा गएको ६ दशमलव ३ म्याग्निच्युडको यस भूकम्पले ८० जनाको ज्यान गयो । त्यस क्षेत्रका थुप्रै घर भत्किए । पशुचौपायाहरूको पनि मरे । भूकम्पको केन्द्रविन्दु बझाङ भएको मानिन्छ ।
१३) विसं २०३७ (सन् १९८०)
पश्चिम नेपालको बझाङमा आएको ६ दशमलव ५ म्याग्निच्युडको भूकम्पले २ सय जनाको ज्यान गएकाे थियाे । ५ हजार ६ सय जना घाइते भएका थिए । भूकम्पले नेपाल–भारत सिमानामा धेरै क्षति भएको थियो ।
१४) विसं २०४५ (सन् १९८८)
पूर्वी नेपालको उदयपुर जिल्ला केन्द्रविन्दु भएर गएको ६ दशमलव ९ म्याग्निच्युडको भूकम्पका कारण पूर्वी नेपालमा ठूलो क्षति हुन पुग्यो । भूकम्पका कारण १ हजार ९१ जनाले ज्यान गुमाउन पुगे । ६ हजार ५ सयभन्दा बढी घर भत्किए । भारतको बिहारका ५० हजार घरमा पनि भूकम्पका कारण क्षति पुग्यो ।
१५) विसं २०६८ (सन् २०११)
पूर्वी नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमा क्षेत्र केन्द्रविन्दु भएर गएको ६ दशमलव ८ म्याग्निच्युडकाे भूकम्पका कारण १ सय ११ जनाले ज्यान गुमाउन पुगे । भूकम्पका कारण सिक्किमका धेरै घरहरूमा क्षति पुग्यो ।
१६) विसं २०७२ (सन् २०१५)
विसं २०७२ साल वैशाख १२ गते दिउँसो १२ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले काठमाण्डौ, गोरखा र सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्यायाे ।
भूकम्पका कारण ८ हजार ८ सय ५७ जनाले ज्यान गुमाए । भूकम्पले १० हजार ८ सय ३ वटा सरकारी भवन पूर्णरूपमा क्षतिग्रस्त भए । २ लाख ९७ हजार २ सय ६६ वटा घर पूर्ण क्षति भयो ।
भूकम्पमा परेर युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका काठमाण्डौको वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, बौद्धनाथ स्तुपा, स्वयम्भूनाथ स्तुपामा क्षति पुगेको थियो । यसै भूकम्पमा परेर धरहरा पूर्णरूपमा क्षतिग्रस्त भयो ।
१७) विसं २०७२ (सन् २०१५)
विसं २०७२ साल वैशाख २९ गते दोलखा केन्द्रविन्दु भएर गएको गोरखा भूकम्पको परकम्पका कारण २ सय १३ जनाले ज्यान गुमाए ।
१७) विसं २०७९ (सन् २०२२)
पश्चिम नेपालको डोटी केन्द्रविन्दु भएर गएको ५ दशमलव ७ म्याग्निच्युडको भूकम्पका कारण ६ जनाको ज्यान गयो । भारतमा पनि भूकम्पको धक्का महसूस गरिएको थियो ।
१८) विसं २०८० (सन् २०२३)
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६ दशमवल ४ म्याग्निचुडकाे भूकम्पका कारण जाजरकोट तथा रुकुममा ठूलो जनधनको क्षति भयो । १ सय ५७ जनाभन्दा बढीले भूकम्पका कारण ज्यान गुमाए । त्यस्तै ९ सय ३७ घर पूर्ण क्षति तथा २ हजार ९ सय ५४ वटा घरमा आंशिक क्षति पुगेको छ ।
***
२०८१ सालमा ४ म्याग्निच्यूड माथिका १९ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यी भूकम्प ठूला भूकम्पको पूर्वसंकेतसमेत हुनसक्ने भएकाले पूर्वतयारी र सावधानीमा ध्यान दिन विज्ञहरूले आग्रह गर्दै आएका छन् ।