काठमाडौँ । इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविरामको सहमति भएको छ । दुई पक्षबीचको मध्यस्थकर्ताहरू कतार र अमेरिकाका अनुसार हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्तसहित युद्धविरामको सहमति भएको हो ।
कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीका अनुसार आइतबारदेखि युद्धविराम लागू हुनेछ । युद्धविरामको सहमतिलाई इजरायली क्याबिनेटनले स्वीकृत गरेपछि मात्र लागू हुने बीबीसीले जनाएको छ ।
त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि युद्धविरामसँगै गाजाको युद्ध रोकिनुका साथै प्यालेस्टिनी नागरिकहरूले मानवीय सहायता पाउने र बन्दी बनाइएकाहरू घर फर्किन पाउने बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुका अनुसार सम्झौतालाई अन्तिम रूप दिने काम भइरहेको छ । उनले युद्धविरामको सहमतिलाई प्रवर्द्धन गरेकोमा अमेरिकी राष्ट्रपति बाइडेनलाई धन्यवादसमेत दिएका छन् । त्यस्तै हमास नेता खालिल अल हायाले भने युद्धविराम प्यालेस्टिनी लचिलोपनका कारण सम्भव भएको प्रतिक्रिया दिएका छन् ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले पहिलो चरणमा २ जना अमेरिकी-इजरायली नागरिकलाई हमासले रिहा गर्ने सहमति भएको उल्लेख गरेको छ ।
पहिलो चरणमा ६ साताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ । दुई पक्षबीच सहमति जुटेपछि १५ महिना लामो युद्ध अन्त्य हुने भएको छ ।
प्यालेस्टिनी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा अप्रत्याशित आक्रमण गरेपछि दुई पक्षबीच युद्ध चर्किएको थियो । हमासको आक्रमणबाट अक्टोबर ७ मा करिब १२ सयको ज्यान गएको थियो । हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार बीचमा अशक्त अवस्थाका र मानवीय सहायताका लागि अस्थायी युद्धविराम भएका बेला गरी १ सय ९ जनालाई हमासले मुक्त गरेको थियो ।
८ जनालाई इजरायली सेनाले मुक्त गराएको थियो भने ३७ जनालाई मृत्युपछि जिम्मा लगाइएको थियो । हमासको नियन्त्रणबाट भागेका ३ जनाको भने इजरायली सेनाको आक्रमणमा मृत्यु भएको थियो । नेपालका विपिन जोशीका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणबाट मुक्त हुन बाँकी छन् । तिनमा ८१ पुरुष १३ महिला छन् । उनीहरूमध्ये २ जना ५ वर्षभन्दा मुनिका हुन् ।
इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४६ हजार ६ सय ४५ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् ।