वीरगञ्ज । नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरगञ्जमा भएको उपाधि भिडन्तको तेस्रो दिन बिहीबार आर्मीलाई ७४ रनमा अलआउट गर्दै पुलिस जय ट्रफी च्याम्पियन बनेको हो।
१०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमै समेटिएपछि पुलिसले खेल २८ रनको जित निकाल्न सफल भयो। जसमा ब्याटिङमा आर्मीका लागि इमरान शेखले सबैभन्दा बढी २८ रन बनाए। आर्मीका अरु ब्याटरलाई टिक्न नदिने क्रममा पुलिसका सागर ढकालले ६ विकेट लिए। सागरले १४.२ ओभरम १ मेडन राख्दा ३५ रन दिए।
पुलिसका अर्का स्पिनर ललितनारायण राजवंशीले ४ विकेट लिएपछि पुलिस आर्मीमाथि हाबी बनेको थियो। सागरले अघिल्लो इनिङग्समा पनि ५ विकेट लिँदा दुवै इनिङग्समा गरी ११ विकेट लिए।
त्यसअघि पुलिस बिहीबार तेस्रो दिनको खेल सुरु भएको केही छिनमै दोस्रो इनिङग्समा १३९ रनमा अलआउट हुँदा आर्मीले १०३ रनको लक्ष्य पाएको थियो। पुलिसले दिनको खेल १३२-९ बाट सुरु गरेको थियो।
दोस्रो इनिङग्समा पुलिसका लागि कुशल भुर्तेलले ४५ रन र दिलिप नाथले ३४ रन जोडे।
बलिङमा आर्मीका शाहब अलाम र बसिर अहमदले ५-५ विकेट लिए। पहिलो इनिङग्समा ७ विकेट लिएका शाहबले फाइनलमा मात्र कुल १२ विकेट लिए। उनले प्रतियोगिताभार कुल ३३ विकेट लिन सफल भए। बढी विकेट लिने बलरको दोस्रो स्थानमा रहेका पुलिसका ललितले २४ विकेट हात पारे।
पहिलो इनिङग्समा पुलिसले १३३ रन जोड्दा आर्मीले १७० रन बनाएको थियो। जसमा ब्याटिङमा पुलिसका लागि कुशल भुर्तेलले ५१ रन जोड्दा बलिङमा आर्मीका शाहबले ७ विकेट लिएका थिए। यस्तै आर्मीका लागि ब्याटिङमा भीम सार्कीले ५८ रन र बसिर अहमदले ४० रन बनाए। बलिङमा पुलिसका सागर ढकालले ५ विकेट लिँदा कुशल भुर्तेलले ३ विकेट हात पारे।
वीरगञ्ज र जनकपुरमा भएको प्रतियोगितामा आर्मी र पुलिससहित बागमती र मधेश प्रदेशले प्रतिस्पर्धा गरे। प्रतियोगितामा शाहबले कुल ३३ विकेट लिँदै सर्वाधिक विकेट लिने बलर बने। मधेशका मयन यादवले सर्वाधिक रन बनाए। उनले २६८ रन बनाए।