मुम्बई प्रहरीले अभिनेता सैफ अलि खानमाथि भएको आक्रमण सम्बन्धी एफआईआर दर्ता गरेको छ।
यो दुई पृष्ठ लामो एफआईआरको विवरण सार्वजनिक भएको छ। यसअनुसार, आरोपीले आक्रमणको क्रममा एक करोड रूपैयाँ ‘फिरौती’ मागेको उल्लेख छ ।
सैफ अलि खानका स्टाफले घटनाबारे उजुरी दिएका थिए । उजुरी अनुसार, ‘सैफ अलि खानमाथि आक्रमण गर्नेले एक करोड रूपैयाँ मागेका थिए। जब सैफको घरमा आरोपीसँग सोधपुछ गरियो कि उसलाई के चाहिन्छ, तब उसले पैसा चाहिने बतायो। उसलाई सोधियो ‘कति पैसा चाहिन्छ?’ उसले भन्यो- एक करोड !’
एफआईआर अनुसार, आरोपीले घरमा रहेकी स्टाफ नर्ससँग झगडा गरेका थिए । झगडाको क्रममा उनको समेत दुवै हातमा चोट लागेको छ। उनीहरूबीच झगडा गएको ठाउँ पुगेका सैफमाथि धारिलो हतियार प्रयोग गरेर आक्रमण भएको थियो ।
उनको अपरेसन गरिएको छ । उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । सैफ अलि खानको घाउबाट तीन इन्च लामो धारिलो वस्तुको टुक्रा समेत निकालिएको छ ।
एफआईआरका मुख्य बुँदाहरू
सैफ अलि खानकी स्टाफ एलियामा फिलिपले उजुरीमा भनेकी छन्, ‘म चार वर्षदेखि अभिनेता सैफ अलि खानको घरमा स्टाफ नर्सको रूपमा काम गरिरहेकी छु। सैफ अलि खानको परिवार ११औं र १२औं तलामा बस्छ। ११औं तलामा तीनवटा कोठा छन्, जसमध्ये एउटा कोठामा सैफ सर र करिना म्याडम बस्छन्। अर्को कोठामा उनीहरूका जेठा छोरा तैमुर बस्छन्। तैमुरको कोठामा गीता नामकी नर्सले तैमुरको हेरचाह गर्छिन्। म सैफ र करिनाका कान्छा छोरा जहाँगीरको हेरचाह गर्छु।
रातको करिब दुई बजेतिर आवाज आएपछि म ब्यूँझिएँ। म उठेर बसे । अनि हेरेको त बाथरुमको ढोका खुला छ र बत्ती पनि बलिरहेको छ। मैले सोचेँ करिना म्याडम बाबा जयसँग भेट्न आएको होला, तर केही गडबड भएको जस्तो लाग्यो। त्यसपछि म फेरि उठेर बसेँ। मैले कोठामा छायाँ देखेँ।
त्यसपछि बाथरुमबाट बाहिर निस्केर त्यो मेरो नजिक आयो र मलाई चुप बस्न धम्की दियो। उसले भन्यो- कुनै आवाज नगर्नू, बाहिर नजानू। जब म जहाँगीरलाई उठाउन जान्छु, त्यो मेरोतर्फ दौडियो। उसको हातमा हेक्सा ब्लेड थियो र बायाँ हातमा कुनै काठजस्तो वस्तु थियो।
झगडाको क्रममा उसले मलाई हेक्सा ब्लेडले हिर्काउन खोज्यो। मैले हात अघि बढाएर बच्ने प्रयास गर्दा मेरो दुवै हातका नाडीमा र बायाँ हातको बिच भागमा चोट लाग्यो। मैले उसलाई सोधेँ, ‘तिमीलाई के चाहिन्छ?’ उसले भन्यो, ‘पैसा।’ मैले सोधेँ, ‘कति?’ त्यसपछि उसले अंग्रेजीमा भन्यो, ‘एक करोड।’
त्यसै क्रममा कोठामा हल्ला भयो। आवाज सुनेर सैफ सर र करिना म्याडम दौडेर आए। त्यसपछि उसले सैफ सरमाथि पनि आक्रमण गर्यो।
सैफ सरले उसलाई रोक्न सफल भए । अनि हामी सबै कोठाबाहिर भाग्यौं र ढोका बन्द गर्यौं। हामी माथिल्लो तलामा पुग्यौं। त्यति बेलासम्म स्टाफ रुममा सुतिरहेका रमेश, हरि, रामु र पासवान पनि आए। त्यसपछि हामी कोठामा फर्केर गयौं। ढोका खुला थियो । आरोपी भागिसकेको थियो।
सैफ सरलाई घाँटी पछाडि, दायाँ काँध नजिक, पीठको बायाँ भाग र नाडीमा चोट लागेको थियो। त्यहाँबाट रगत बगिरहेको थियो।’
आरोपीको तस्वीर सार्वजनिक
यसैबीच, आरोपीको सीसीटीभीमा कैद भएको तस्वीर सार्वजनिक भएको छ। यो तस्वीर छैटौँ तलाको हो । आक्रमणपछि आरोपी १२औं तलाबाट भाग्दै थियो।
सैफ अलि खान हाल मुम्बईको लीलावती अस्पतालमा भर्ना छन्। उनको अवस्था स्थिर रहेको छ। डाक्टरका अनुसार, उनलाई छ पटक चक्कु प्रहार गरिएको थियो, जसले गर्दा उनको मेरुदण्डमा गम्भीर चोट लागेको छ।