लहान । लहानको मुख्य चोकमा रहेको सहिद पार्कमा बलिदानी दिवस मनाउने तयारी पूरा भएको छ । माघ ५ गते शनिबार सहिद पार्कमा बिहानैदेखि सहिदलाई माल्यार्पण गर्ने कार्य तय भएको छ । २०६३ माघ ५ गते मधेश आन्दोलनको सुरुवात भएपछि रमेश महतो, बेचन यादव, प्रमोद सदाय र अनिश अन्सारीले सहादत प्राप्त गरेको सम्झनामा प्रत्येक वर्ष सो दिन बलिदानी दिवस मनाइँदै आइएको छ ।
लहान नगरपालिकाको उपप्रमुख तथा जनता समाजवादी पार्टीका नेता रामचलितार महतोले प्रत्येक वर्ष सहिद पार्कको सरसफाइ तथा रङरोगन नगरपालिकाले गर्दै आइरहेको भन्दै यस वर्ष पनि पार्कको सरसफाइ र रङरोगन कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “माघ ५ गते जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्रप्रसाद यादव बिहानै सहिद पार्कमा रहेका पाँचै सहिदलाई माल्यार्पण गरेपछि अन्य राजनीतिक दलका नेताहरू नागरिक समाजलगायत सबैलाई दिनभरि माल्यार्पण कार्यव्रmम गरेर बलिदानी दिवस मनाइने तयारी छ ।”
लगातार १८ वर्षसम्म मनाइएको बलिदानी दिवसको सम्झनामा सहिदले ज्यानको उत्सर्ग गर्दा देखेको सपना पूरा गर्नु नै सही माल्यार्पण हुने मधेश आन्दोलनका अगुवामध्ये जिल्ला समन्वय समिति सिराहाका प्रमुखसमेत रहनुभएका दिनेशकुमार महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “मधेश आन्दोलनले सङ्घीयता, समावेशी र पहिचानलाई स्थापित गरेकाले प्राप्त उपलब्धिको रक्षा गर्दै अन्य अधिकार प्राप्तिका लागि लडिरहने छौँ । यही आन्दोलनको बलमा महìवपूर्ण ठाउँमा पुगेकाले माघ ५ गते बलिदानी दिवसमा सहिदलाई सम्झना गर्न लहान आउने गरेका छन् ।”
विजय सहनीका पिता लक्ष्मी सहनी र रमेश महतोका पिता रविया महतो र प्रमोद सदायका पिता बालेश्वर सदायले आफ्नो अविवाहित छोराहरू मधेश आन्दोलनमा वीरतापूर्वक दिइएको बलिदानीलाई बेवास्ता नगरी देश र मधेश प्रदेशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन गर्दै सङ्घीयतालाई मजबुत बनाउनुपर्ने बताउनुभयो । उहाँहरूले सामूहिक रूपमा भन्नुभयो, “हामी सहिद पार्कमा आएपछि एकक्षण भावविह्ल भए पनि देश र जनताको भलाइका लागि ज्यान उत्सर्ग गरेको साहसिक छोरालाई देखेर गौरवसमेत महसुस भइरहेको छ । प्रत्येक बलिदानी दिवसका अवसरमा दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सहिदका मातापिता र परिवारजनलाई सबै ठाउँमा दिइरहेको सम्मानले पनि हौसला बढिरहेको छ ।”
माघ ५ गते चक्काजाम गरेको बेला माओवादी नेता राम कार्कीले माओवादी सेनाले प्रयोग गरेका हतियार शान्ति सम्झौता अनुसार बुझाउन गइरहेको बेला उहाँ सवार बसलाई रोक्न खोजेपछि चलेको गोली लागेर कक्षा १२ मा पढ्दै गरेको रमेश महतोले सहादत प्राप्त गरेका बताउनुभयो । माघ ७ गतेको आन्दोलनमा अत्यधिक भिड भएपछि प्रहरीले गोली चलाउँदा बेचन यादव, प्रमोद सदाय, अनिश अन्सारी र विजय सहनीले सहादत प्राप्त गर्नुभएको थियो ।