काठमाडौं । नेपाली राजनीतिमा फेरि एकपटक हलचलको संकेत देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दबाब दिन विपक्षी मोर्चालाई सक्रिय बनाउने प्रयास थालेसँगै हलचलको संकेत देखिएको हो ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्रराय यादवको नेपाल समाजवादी पार्टीसहितका दलहरूले २०८० साल असारमा गठित समाजवादी मोर्चा लामो समय निष्क्रिय रहेको थियो । अहिले विपक्षीको भूमिकामा पुगेपछि प्रचण्डले मोर्चालाई सशक्त बनाउन नयाँ रणनीति अघि सारेका छन् । प्रचण्डको नेतृत्वमा जब गठबन्धन सरकार थियो, त्यतिबेला समाजवादी मोर्चा सत्ता बलियो बनाउन र विपक्षीलाई दबाबमा राख्न उपयोग गरिएको थियो । प्रधानमन्त्रीको कुर्सी सुरक्षित गर्न र राजनीतिक समीकरण बलियो बनाउने माध्यमका रूपमा मोर्चाको उपयोग भएको आरोप छ । तर, अहिले सत्ता गुमाएर विपक्षमा पुगेपछि प्रचण्ड मोर्चाको पुनर्संरचनामा लागेका हुन् ।
६ महिनासम्म निष्क्रिय बनेको मोर्चाको बैठक बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न भयो । बैठकमा वर्तमान सरकारमाथि दबाब बढाउने रणनीति, नयाँ दलहरूलाई मोर्चामा सामेल गराउने प्रयास र मोर्चाको दायरा विस्तार गर्नेबारे गहन छलफल बताइन्छ ।
मोर्चाका संस्थापक दलहरूमध्ये एक, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भने मोर्चासँग सहकार्य गर्न असमर्थ देखिएका छन् । यादवले प्रचण्डप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सहकार्यको सम्भावना तत्काल अस्वीकार गरेका छन् । ‘समाजवादी मोर्चा निर्माणमा मेरो भूमिका ऐतिहासिक छ । तर, प्रचण्डले प्रधानमन्त्री बन्दै गर्दा आफ्ना सहकार्य दलहरूमाथि विश्वासघात गर्नुभयो । उहाँले आफ्नै सहयोगीहरूमाथि छुरा रोप्नुभएको छ । यस्तो व्यक्तिसँग सहकार्य गर्न सकिँदैन,’ यादवले भने ।मोर्चा
को मूल उद्देश्यबाट बिचलन हुँदै व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बन्न पुगेको यादवको आरोप छ । उनले अगाडि भने, ‘राष्ट्रिय समस्याहरू समाधान गर्न परिवर्तनकारी शक्तिहरूको एकता आवश्यक छ, तर विश्वासको अभावले सहकार्य सम्भव छैन ।’
प्रचण्डले मोर्चाको दायरा विस्तार गर्दै यसलाई प्रभावकारी बनाउन नयाँ दलहरूलाई सामेल गराउने योजना बनाइरहेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल बाहेक सिके राउत नेतृत्वको जनमत पार्टी, प्रभु साहको आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलहरूलाई मोर्चामा ल्याउन प्रचण्डले सक्रिय पहल गरिरहेका हुन् । तर, विगतका अनुभवले विपक्षी दलहरू प्रचण्डको नेतृत्वमा विश्वास गर्न झिनो उत्साह देखाइरहेका छन् । धेरै दलहरूले प्रचण्डले मोर्चालाई आफ्ना स्वार्थअनुकूल प्रयोग गर्ने गरेको आरोप लगाएका छन् ।
समाजवादी मोर्चा पुनः सक्रिय बनेमा वर्तमान सरकारमाथि दबाब सिर्जना गर्न र राजनीतिक शक्ति सन्तुलनमा प्रभाव पार्न सक्छ । तर, मोर्चाका पुराना सदस्यहरूको असन्तुष्टि, विश्वासको अभाव, र नयाँ दलहरूसँग सहकार्यका लागि आवश्यक सहमति नजुट्दा यो प्रयास चुनौतीपूर्ण देखिन्छ ।