विश्वभरि पुरुषको तुलनामा महिलामा बढी देखिएको लुपस बाथ नेपालमा पनि महिलामै बढी पाइएको छ। उपचारका क्रमा लुपस बाथ पुष्टि भएका १० जनामा नौ महिला र एक पु्रुष छन्। ‘नेपालमा पनि लुपस बाथ नौ गुणा बढी महिलामा देखिएको छ’, उनले भने। उनका अनुसार नेपालमा लुपस बाथको स्थितिबारे छुट्टै अनुसन्धान भने भएको छैन।
नेपालमा लुपस बाथका बिरामी कतिपय सुरुआती चरणमै, कतिपय छालाभरि दाग आएपछि र कतिपय भित्री अंग बिगे्रपछि उपचारका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको चिकित्सकले औंल्याएका छन्।
लुपस बाथको समस्या लिएर स्वास्थ्य संस्थामा पुग्नेमा १५ वर्षमाथि र ४० वर्षमुनिका बढी छन्। जाडो मौसममा अन्य बाथजस्तै लुपस पनि बल्झिएर बिरामी उपचारमा आउने गरेको डा. कर्माचार्य बताउँछन्।
जाडोमा विभिन्न रोगको संक्रमण हुन्छ। जाडोमा विशेषगरी निमोनिया, इन्फ्लुन्जा, मौसमी फ्लु र पेटसम्बन्धी संक्रमण हुन्छ। यी संक्रमणले बाथरोग बढाउँछ। जाडोमा शरीरका नसाहरू पनि सक्रिय हुने भएकाले बाथरोगको दुखाइ पनि बढ्छ। ‘जाडोमा चिसो हुन्छ तर हाम्रो गतिविधि कम हुन्छ। यस्तो बेलामा पनि बाथरोग बल्झिन्छ,’ उनले भने।
चिकित्सकका अनुसार अन्य बाथजस्तै लुपस पनि शरीरमा विभिन्न प्रतिरक्षा प्रणालीमा आउने गडबडीका कारणले हुन्छ। लुपस बाथ ०.०३ प्रतिशत वंशाणुगत र बाँकी जीवनशैलीका कारणले हुने गरेको चिकित्सकहरू बताउँछन्।
लुपस बाथ भए घाम पर्दा अनुहारमा बिबिरा आउने, पानी छोए हातका औंला सुन्निने र सेतो हुने, हात दुख्ने, जोर्नी दुख्ने, शरीरभरि लामखुट्टेले टोकेजस्तो दाग आउने र कपाल झर्नेजस्ता समस्या देखिन्छन्। महिलामा गर्भपतनको समस्या पनि आउन सक्छ। घामका कारणले पनि बाथरोग हुन्छ। ‘घाम ताप्ने सबैलाई बाथ हुँदैन तर शरीरअनुसार कतिपयलाई घामको किरणले पनि बाथ हुने गरेको देखिन्छ,’डा. कर्माचार्यले भने।
उनका अनुसार घाममा हुने अल्ट्राभायलेट र विराटक्सिन जस्ता रसायनले पनि बाथ हुन्छ। त्यसैगरी मोटोपना, भिटामिन डीको कमी, हर्मोनको गडबडी, प्रदूषण, निमोनिया संक्रमण, रसायनयुक्त खानपान, जंकफुड, फास्टफुड, आरामदायी जीवनशैलीका कारणले पनि बाथ लाग्ने उनी बताउँछन्।
‘पुरुषको तुलनामा महिलाको शरीरमा बोसोको मात्रा बढी हुन्छ र यस्तो बोसोमा लेप्टिन नामक रसायन हुन्छ। त्यसले पनि बाथरोग बढ्छ,’ डा. कर्माचार्य भन्छन्।
लुपस बाथ भएपछि चिकित्सकको सुझावमा नियमित औषधी सेवन गरेमा यसलाई नियन्त्रण राख्न सकिन्छ। स्वस्थ जीवनशैली अपनाउने, तौल नियन्त्रणमा राख्ने, चुरोटको धुवाँबाट टाढा बस्ने, व्यायाम गर्ने, जाडोमा हुने विभिन्न संक्रमणबाट जोगिने, निमोनिया र फ्लुविरुद्धको खोप लिने, एन्जाइटीको समयमै उपचार गर्ने जस्ता सावधानी अपनाएमा यो रोगलाई नियन्त्रणमा राख्न सकिने डा. कर्माचार्य बताउँछन्। यो रोगको समयमै उपचार नभएमा मिर्गौला बिग्रिने, गर्भपतन हुने जस्ता समस्या देखिन्छन्।