काठमाडौं । खगोलविद्हरूले विश्वकै मूल्यवान् टेलिस्कोप ‘प्रकाश प्रदूषण’को जोखिममा पर्ने चेतावनी दिएका छन्। यो जोखिम एक योजनाबद्ध नवीकरणीय ऊर्जा परियोजनाका कारण सिर्जना भएको हो।
अमेरिकी ऊर्जा कम्पनी एईएस एनर्जीले चिलीको माउन्ट परानालको शिखरबाट केही किलोमिटर पर ठूलो नवीकरणीय हाइड्रोजन उत्पादन केन्द्र निर्माण गर्ने योजना बनाएको छ। यो स्थल युरोपियन सदर्न अब्जर्भेटरी (ईएसओ) को भेरी लार्ज टेलिस्कोप (भीएलटी) को अवस्थिति हो।
स्पेस डटकमका अनुसार १९९० को दशकमा करिब ३५० मिलियन डलर लागतमा (आजको हिसाबले ८४० मिलियन डलर) निर्माण गरिएको भीएलटी संसारकै सबैभन्दा संवेदनशील आकाश-अवलोकन उपकरणहरूमध्ये एक हो।
चारवटा २७ फिट चौडाइ (८.२ मिटर) टेलिस्कोपहरूलाई एकजुट बनाएर सञ्चालन गरिने यो उच्च-स्तरको अब्जर्भेटरीले ब्रह्माण्डका केही गहन रहस्य उजागर गरेको छ।
तर भीएलटीका महानिर्देशक जाभियर बार्कन्सका अनुसार आईएनएनए नामक हाइड्रोजन परियोजनाले स्वीकृति पाएको खण्डमा भने यो खगोलीय शक्ति केन्द्रको सञ्चालनमा ठूलो समस्या आउने सम्भावना छ।
“यस परियोजनाका कारण आकाशको उज्यालोपन १०% ले वृद्धि हुन सक्छ,” बार्कन्सले भने। “र, यो फरकले विश्वकै उत्कृष्ट अब्जर्भेटरीलाई औसत स्तरको अवलोकनस्थलमा बदल्न सक्छ।”
उत्तर चिलीको अताकामा मरुभूमिमा अवस्थित ८,७४० फिट (२,६६४ मिटर) अग्लो माउन्ट परानाल शिखर सहर र औद्योगिक उज्यालो प्रदूषणबाट मुक्त पृथ्वीका अन्तिम स्थानहरूमध्ये एक हो।
एन्डिज पहाडहरूको अनौठो भौगोलिक बनावटका कारण, शिखरमाथिको ताराहरूले भरिएको रातको आकाश ११ महिनाभन्दा बढी समय सफा रहन्छ, जसले जटिल खगोलीय अनुसन्धानका लागि आदर्श अवस्थाहरू प्रदान गर्छ।
“यो विश्वमा हामीले हालसम्म अब्जर्भेटोरी स्थापना गरेको सबैभन्दा अँध्यारो स्थान हो,” बार्कन्सले भने।
१६ वटा युरोपेली राष्ट्रहरूको अन्तरसरकारी संगठन ईएसओले ६० वर्षभन्दा बढी समयअघि अताकामालाई आफ्नो ध्यानमा राखेको थियो। ईएसओले आफ्नो पहिलो अब्जर्भेटोरी १९६६ मा परानालको दक्षिणतर्फ रहेको ला सिला पहाडमा स्थापना गरेको थियो। परानाल १९९० को दशकमा भीएलटी निर्माण भएपछि युरोपेली खगोलशास्त्रको केन्द्र बनेको हो।
स्पेस डटकमका अनुसार भीएलटीले हालसम्म खगोलविद्हरूलाई आकाशगंगाको केन्द्रमा रहेको ब्ल्याक होलको वरपरका ताराहरूको कक्ष पहिचान गर्न, सौर्य प्रणालीबाहेकको ग्रहको पहिलो तस्बिर लिन, र ब्रह्माण्डभर फैलिएको दुर्लभ कस्मिक वेब पत्ता लगाउन सक्षम बनाएको छ।
भीएलटीले आफ्नो अत्यधिक सफलताको मुख्य कारण माउन्ट परानालमाथिको अँध्यारो आकाशलाई मानेको छ। २०२३ मा प्रकाशित एक अध्ययनले विश्वका २८ शक्तिशाली खगोलीय अब्जर्भेटोरीमध्ये माउन्ट परानालका टेलिस्कोपहरूले सबैभन्दा कम कृत्रिम उज्यालो प्रदूषणको सामना गरेको देखाएको छ।
क्षेत्रका उत्कृष्ट आकाश-अवलोकन अवस्थाका कारण ईएसओले आफ्नो अर्को पुस्ताको एक्स्ट्रिम्ली लार्ज टेलिस्कोप (ईएलटी) को स्थानको रूपमा छिमेकी माउन्ट आर्माजोनेस चयन गरेको हो।
यो दशकको अन्त्यतिर निर्माण पूरा हुने ईएलटी विश्वको सबैभन्दा ठूलो टेलिस्कोप हुनेछ, जसले दृश्य प्रकाशमा ब्रह्माण्डको अध्ययन गर्नेछ। यसको मुख्य ऐना १३० फिट (३९.३ मिटर) चौडाइको हुनेछ।
१.५ अर्ब डलरभन्दा बढी मूल्यको यो टेलिस्कोपले भीएलटीले प्रदान गरेको विज्ञानलाई अझै विस्तारित गर्दै ब्रह्माण्डको सबैभन्दा टाढाको भागको गहिरो अध्ययन गर्नेछ। साथै, यसले सम्भावित रूपमा बस्नयोग्य एक्सोप्लानेटहरूबारे विस्तृत जानकारी सङ्कलन गर्न सक्नेछ। तर आईएनएनए परियोजनाबाट हुने उज्यालो प्रदूषणले यो प्रगतिलाई पछाडि धकेल्न सक्छ।
“हामीले सबैभन्दा फिक्का देखिने ३० प्रतिशत आकाशगंगाहरूको अवलोकन गर्ने क्षमता गुमाउन सक्छौं,” बार्कन्सले भने। “हामी अहिले एक्सोप्लानेटको वायुमण्डलका विवरणहरू हेर्न सक्षम भइसकेका छौं, तर आकाश उज्यालो भएमा ती विवरणहरू देख्न सक्दैनौं।”
रिन्यूएबल्स नाउका अनुसार, १० अर्ब डलर लागतको ३,०२१ हेक्टर क्षेत्रफलमा फैलिएको यो आईएनएनए परियोजनामा तीनवटा सौर्य फार्म, तीनवटा पवन फार्म, ब्याट्री ऊर्जा भण्डारण प्रणाली, र हाइड्रोजन उत्पादनका लागि सुविधाहरू समावेश हुनेछन्।
ईएसओका अनुमानअनुसार, यस कम्प्लेक्सले करिब २०,००० जनसंख्या भएको सहर बराबर उज्यालो प्रदूषण फैलाउनेछ।
यस औद्योगिक पार्कका केही भाग ईएसओका टेलिस्कोपहरूबाट ३ माइल (५ किलोमिटर) नजिक सम्म पुग्न सक्नेछन्, र यसका सम्भावित थप विस्तारले परानालको रातको आकाशमा अझ नकारात्मक प्रभाव पार्ने बताइएको छ।