वीरगञ्ज । नेशनल इन्फोटेक कलेजद्वारा वीरगञ्जमा आयोजित चौथो संस्करणको नेशनल इन्फोटेक (एनआइ) कप – २०८१ ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको दोस्रो लिग चरणको खेलमा नेशनल एकेडेमीले अल्पाइन हाई स्कुलमाथि १० विकेटको प्रभावशाली जित हासिल गरेको छ ।
खेलको प्रारम्भमा अल्पाइन हाई स्कुलले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो । यद्यपि, यो निर्णय टोलीका लागि चुनौतीपूर्ण साबित भयो । अल्पाइनका ब्याटरहरू सुरुदेखि नै नेशनल एकेडेमीका बलरसामु सङ्घर्षरत देखिए । रोहित यादवले २५ रन बनाएर टिमलाई केही समयको स्थिरता प्रदान गरे भने सहबाज अन्सारीले २२ रन जोड्दै उनलाई केही साथ दिए । त्यस्तै अफ्रोज अन्सारीले टिमका लागि १३ रनको योगदान दिए । टोलीले २० ओभरमा जम्मा १०३ रन बनायो । स्कोर बनाउने क्रममा अल्पाइनका ६ विकेटहरू गए ।
अल्पाइनविरुद्ध नेशनल एकेडेमीका बलरहरूले वीरेन्द्र साह कानुले आफ्नो घातक बलिङद्वारा ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रवि कुमार पटेलले ४ ओभरमा केवल ६ रन दिएर १ विकेट लिएका थिए । उनीहरूको बलिङले अल्पाइनका ब्याटरहरूलाई कुनै पनि बेला स्वतन्त्र रूपमा रन बनाउन दिएन । विशाल गुप्ताले आफ्नो किफायती स्पेलमा १७ डट बल दिएर विपक्षीलाई अझ दबाबमा राखे ।
१०४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेशनल एकेडेमीका ओपनरहरूले अल्पाइन हाई स्कूलका बलरहरूलाई कुनै पनि अवसर दिएनन् । आब्द बाबु ठकुराइ र सिद्धान्त प्रसाद कुमारीको ओपनिङ जोडीले नेशनल एकेडेमीलाई जितसम्म पुर्याए । आब्द बाबुले ६१ बलमा ५२ रन बनाएर आफ्नो इनिङ्सलाई धैर्यता र आक्रमणको संयोजनमा सजाए । सिद्धान्तले ४३ बलमा ४४ रन बनाएर आब्दलाई उत्कृष्ट साथ दिए । नेशनल एकेडेमीले १७.१ ओभरमै लक्ष्य पूरा गर्यो ।
अल्पाइन हाई स्कूलका बलरहरू भने प्रभावहीन साबित भए । रोहित यादवले ४ ओभरमा २३ रन दिएर केही हदसम्म नियन्त्रण राखे पनि अन्य बलरहरू कुनै पनि दबाब सिर्जना गर्न असफल भए । टोलीका लागि यो खेलले बलिङमा रणनीतिक सुधारको खाँचो स्पष्ट देखाएको छ ।
खेलमा नेशनल एकेडेमीको समग्र प्रदर्शन सराहनीय रह्यो । बलिङ, फिल्डिङ र ब्याटिङ तीन वटै क्षेत्रमा टोलीले उत्कृष्ट प्रदर्शन गर्यो । विशेष गरी, वीरेन्द्र साह कानु र आब्द बाबु ठकुरीले खेलमा निर्णायक भूमिका खेले ।
एक जित र एक हारसँगै नेशनल एकेडेमीले लिगको दुई अङ्कसहित अङ्क तालिकामा तेस्रो स्थान बनाएको छ । अल्पाइन हाई स्कुल भने शून्य अङ्कसहित चौथो स्थानमा छ ।