बर्दीबास । महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलमा उखु अभावले चिनी उत्पादनमा समस्या भएको छ । उखु उत्पादन हुने जिल्लाको दक्षिणी भेगमा शीतलहरको कारणले विगत १० दिनदेखि ‘नो केन’ को समस्या सामना गर्दै आएको छ ।
एभरेष्टका महाप्रवन्धक सुरेन्द्र शुक्लाका अनुसार कारखानालाई पूर्ण क्षमतामा सञ्चालन हुन दैनिक ४० देखि ४५ हजार क्विन्टल उखु आवश्यक पर्छ । अहिले आवश्यकताको २८ देखि ३० हजार क्विन्टल उखु मात्र आपूर्ति हुने गरेको छ । कुनै दिन त्यो आपूर्ति पनि २० देखि २२ क्विन्टलमा झर्ने गरेको शुक्लाले जनाउनुभयो । उहाँका अनुसार माघे संक्रान्तिकोबेला उखु नआएपछि २-३ दिन त क्रसिङ नै बन्द भयो । त्यसपछि पनि उखु आपूर्तिमा सुधार आउन सकेको छैन । अहिले एक दिन उखु जम्मा गर्ने र अर्को दिन क्रसिङ गर्नु परेको छ ।
महाप्रवन्धक शुक्लाले भन्नुभयो, "उखु अभावकै कारण (सोमवार राती ११ बजेपछि मात्र क्रसिङ सुरु हुन सक्यो । मौसममा सुधार नभएकोले भोली फेरी ‘नो केन’ हुने सम्भावना बढेको छ । नियमितरुपमा मिल सञ्चालन हुन नसक्दा क्रसिङ खर्चिलो र झन्झटिलो हुन पुगेको छ । यसले चिनी उत्पादनमा हृास ल्याएको छ ।"
उखु आपूर्ति नहुदा चिनी मिलको उखुका गाडी राख्ने विशाल यार्ड अहिले सुनसान छ । यो वर्ष (०८१÷८२) ३५ लाख क्विन्टल उखु क्रसिङ गरि ३ लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य साथ मंसिर २६ गतेदेखि क्रसिङ सुरु गरेको एभरेष्टले अहिलेसम्म १५ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरि सक्नु पर्ने थियो । ‘नो केन’ ले गर्दा आज (माघ ८ गते) विहान १० बजेसम्म १३ लाख ७० हजार क्विन्टल मात्र उखु क्रसिङ गरि १ लाख १६ हजार ४५० क्विन्टल चिनी उत्पादन गरेको जनाएको छ ।
महाप्रवन्धक शुक्लाका अनुसार एभरेष्टको पाकेट एरियामा अहिले पनि प्रयाप्त उखु छन् । सुरुमा महोत्तरीमा २४ लाख र सर्लाहीमा ७ लाख गरि ३१ लाख क्विन्टल उखु उत्पादन भएको प्रक्षेपण गरिएको थियो । थपथापमा ४ लाख क्विन्टलजति अन्य क्षेत्रबाट आपूर्ति गरेर यो वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङको तयारी गरिएको उहाँले जनाउनुभयो ।
यसमध्ये खुट्टी (२ वर्ष पुरानो) उखु क्रसिङ भइसकेको छ । पकेट एरियामा मोरहन (गत वर्ष रोपिएको) उखु पनि पर्याप्त छन् । यसैवीच परेको चाडवाड तथा मौसमी प्रतिकुलताले उखु आपूर्ति हुन नसकेको कृषकहरुको भनाइ छ ।
सुरुमा माघे संक्रान्तिले गर्दा उखु आपूर्ति भएन । त्यसपछि जिल्लाको दक्षिणी भेगमा शीतलहरको प्रकोप छ । विहानीदेखिको बाक्लो हुस्सु र चीसो स्याँठले गर्दा मजदुर काममा निस्कन चाहदैनन् । मोरहन उखु काटन न्यूनतम १६ डिग्री तापक्रम आवश्यक पर्छ । उखु उत्पादन एरियामा विहानी र रातको तापक्रम ९ डिग्रीसम्म झरेकोले पनि चिनी मिलमा उखु आपूर्ति सहज नभएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले बताउनुभयो ।
अर्कोतर्फ उत्पादनको उचित मूल्य नपाउदा घट्दो क्रममा रहेको उखुको क्षेत्रफल पनि चिनी मिलका लागि ‘नो केन’ जस्ता समस्या बढदै गएको गौशाला नपा १० का उखु कृषक दिनेश महतोको भनाइ छ । गत वर्ष एभरेष्टले क्रसिङ सिजन (०८०÷८१) मा २९ लाख ४ हजार ५११ क्विन्टल उखु क्रसिङ गरि २ लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरेको थियो ।