वीरगंज । स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी, पारदर्शी, र नागरिकमैत्री बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा सरोकारवालाहरू र सुरक्षा निकायहरूको बैठक सम्पन्न भएको छ ।
बैठकले सरकारी, निजी, र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सेवा सरल र पारदर्शी बनाउने तथा अस्पतालहरूले लिने शुल्कमा एकरूपता कायम गर्ने निर्णय गरेको छ । यसै गरी, जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका निर्णयहरू पूर्ण रूपमा कार्यान्वयन गर्न र नेपाल सरकारबाट स्वीकृत मापदण्ड र नीतिहरूको पालनालाई सुनिश्चित गर्न निर्णय लिइएको छ ।
बैठकले अस्पताल अनुगमन प्रभावकारी बनाउन अनुगमन टोलीमा विषय विज्ञ र नेपाल चिकित्सक सङ्घको प्रतिनिधित्व रहने व्यवस्था गरेको छ । त्यस्तै स्वास्थ्यकर्मीको सुरक्षामा जोड दिँदै उनीहरूले सेवा, सुविधा, वा पारिश्रमिकको विषयमा चासो राख्दा कुनै भेदभाव गर्न नपाइने र उनीहरूलाई सेवाबाट हटाउन रोक लगाउने निर्णय गरेको छ ।
त्यसै गरी सूचना व्यवस्थापन र आचारसंहिताको पालना गराउन अस्पताल र स्वास्थ्य संस्थामा नागरिकमैत्री सूचना व्यवस्थापन र स्वास्थ्यकर्मीको आचारसंहिता पालना गराउने प्रावधान सुनिश्चित गर्ने निर्णय गरेको छ भने उच्छृङ्खल गतिविधि रोक्न शून्य सहनशीलता अपनाउने नीतिअन्तर्गत स्वास्थ्यकर्मीमाथि मानसिक वा शारीरिक दबाब दिने, तोडफोड, हातपात जस्ता घटनाहरूलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउने निर्णय गरेको छ ।
बैठकमा त्यस्तै कार्यगत वातावरण निर्माण गर्न समय-समयमा छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गरिने निर्णय पनि गरिएको छ ।
यस्तै पर्सा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले दर्ता नभएका एम्बुलेन्सहरूको दर्ता गर्न १५ दिनको समय सीमा तोक्दै सूचना जारी गरेको छ । समितिले दर्ता नभएका एम्बुलेन्सहरूलाई अनिवार्य रूपमा प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।