रौतहट । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा पहिलो पटक महिलाको आङ खस्ने रोगको सफलता पूर्वक अपरेसन भएको छ ।
प्रादेशिक अस्पताल गौरका डाक्टरहरूको टिमले मंगलवार माधवनारायण नगरपालिका ६ की ४९ वर्षीय पार्वती देवीको तेस्रो डिग्रीको आङ खसेको रोगको सफलता पूर्वक अपरेसन गरेको हो।
अस्पतालका सर्जन डाक्टर मुरारी ठाकुर, डाक्टर शम्भु शाह ,एनेस्थेसिया गौरीशंकर प्रसाद , स्क्रब नर्स दिव्या ठाकुर , ओटी इन्चार्ज गोदावरी यादव लगायत स्वास्थ्यकर्मीहरुको टिमले सफलता पूर्वक अपरेसन सम्पन्न गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महमद अनवर हासमीले बताए।
रौतहट जिल्लामा एक मात्र प्रदेश स्तरको अस्पताल प्रादेशिक अस्पताल गौरको उपचार प्रति जिल्ला वासीको विश्वास दिनानुदिन बढ्दै गएकोले शल्यक्रिया लगायत विभिन्न सेवा प्राप्त गर्ने सेवाग्राहीको संख्यामा उल्लेखनिय वृद्धि भएको अध्यक्ष हासमीको भनाई छ।
प्रादेशिक अस्पताल गौरमामा पहिलो पटक आङ खस्ने रोगको अपरेसन भएको र अब यस्तो प्रकृतिको रोगको शल्यक्रिया लगायत पाठेघरको शल्यक्रिया नियमित हुने सम्पूर्णमा जानकारी गराउँदै अध्यक्ष अनवर हासमीले स्वास्थ सेवा लिन जिल्ला बासीलाई आग्रह गरेका छन्। विगतमा रेफरल अस्पतालको रूपमा बनेको प्रादेशिक अस्पताल गौरको पछिल्लो समय प्रायः सम्पूर्ण सेवामा सुधार भएको छ।
सेवा सुधार भएसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्यामा वृद्धि भएको छ। हाल दैनिक जसो पाठेघर, एपेन्डिक्स, सिजरियन, हार्दाजोर्नी, लगायत हृदय रोग र क्यान्सर बाहेक १० देखी १५ वटा बिरामीको विभिन्न किसिमका अपरेसन भइरहेको अस्पताल विकास समितिका अध्यक्ष हासमीले जानकारी दिएका छन्। अस्पतालमा मधेस प्रदेश सरकार र सङ्घीय सरकार बाट विभिन्न किसिमका अत्याधुनिक उपकरण सहयोग भएको उनले बताएका छन्।
प्रादेशिक अस्पताल गौर व्यवस्थित हुँदैजाँदा हाल दैनिकजसो ओपिडीमा पाँचसय भन्दा बढी बिरामी उपचारको लागि आउने गरेको जनाइएको छ।