वीरगन्ज । भारतसंग सीमाना जोडिएको पर्सा जिल्लामा रहेका सीमा स्तम्भ (पिल्लर)हरुको मर्मतसम्भार तथा रंगरोगनको काम बुधबारदेखि सुरु गरिएको छ ।
नेपाल–सीमामा पर्सा जिल्लामा मुख्य, सहायक र साना गरी १ हजार ५९ वटा सीमा स्तम्भहरु रहेका छन् । तीमध्ये पर्ने बिजोर नम्बरका सीमा स्तम्भहरुको रेखदेख,मर्मत तथा रंगरोगनको काम सशस्त्र प्रहरी बलले गर्दै आएको छ भने जोर नम्बर भएका सीमा स्तम्भहरुको रेखदेख,मर्मत र रंगरोगनको काम भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गर्दै आएको छ ।
बुधबार पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वास्थित सीमामा रहेको ३९१/६ नम्बरको सानो सीमा स्तम्भको मर्मत तथा रंगरोगन गरेर सशस्त्र प्रहरी बलले सीमा स्तम्भहरुको मर्मत तथा रंगरोगन कार्य सुरु गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक दिलिप कुमार सिंह, नापी विभागका प्रतिनिधी कपिल कटुवाल,नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सुवास भट्ट, एसएसबीका एसिस्डेन्ट कमाण्डेण्ट उत्तम कुमार घोष लगायतको उपस्थितिमा बुधबारदेखि बिजोर नम्बरका सीमा स्तम्भहरुको मर्मत तथा रंगरोगन कार्य सुरु गरिएको धामीले बताए ।
सन् २०१४ पहिलेका र त्यसपछि निर्माण गरिएका बिजोर नम्बरका सीमा स्तम्भहरु नेपालको तर्फबाट सशस्त्र प्रहरी बलले हरेक वर्ष मर्मतसम्भार तथा रंगरोगन गर्दै आएको उनले बताए ।