वीरगन्ज । कुष्ठरोगका प्रभावितहरुको उचित उपचार तथा रेखदेखमा स्थानीय सरकारले सबैभन्दा बढी ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।आईरिस एड, दी लेप्रोसी मिसन नेपाल र आईडीया नेपालको सहयोगमा स्वास्थ्य कार्यालय पर्साले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
स्वास्थ्य कार्यालय पर्साले जिल्लाका पत्रकारहरुसंग बुधबार आयोजना गरेको एकदिने कुष्ठरोग एंव सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग नियन्त्रण शाखाका प्रमुख डाक्टर विनोद झाले मधेस प्रदेशका स्थानीय तहमा अन्य प्रदेशको तुलनामा कुष्ठरोगबाट प्रभावित हुने क्रम दर बढेको जानकारी गराए ।उनले मधेस प्रदेशका केही स्थानीय तहमा संक्रमण दर घटेपनि समग्रमा भने संक्रमण दर बढेको देखीएको बताए ।
लेप्रोसी मिसनका अनुसार, देशभरका सातै प्रदेशमा गरी हाल २ हजार ४ सय ७२ जना कुष्ठरोगका प्रभावित रहेकोमा तीमध्ये सबै भन्दा बढी मधेस प्रदेशममा ८ सय ७४ जना अर्थात ३५ प्रतिशत कुष्ठरोगका बिरामी उपचाररत छन् । जसमध्ये १४ वर्षमुनिका ८७ जना ,महिला ३ सय ७० जना , १४ वर्ष मुनिका असमर्थता तह २ का १ जना र असमर्थता तह २ का अन्य ४७ जना छन् ।
पर्सा जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा १ सय १० जना कुष्ठरोगका नयाँ प्रभावितहरु देखापरेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा पर्सा जिल्लाका १४ मध्ये ठोरी गाँउपालिका बाहेक अरु १३ पालिकामा गरी १ सय १० कुष्ठरोगका प्रभावितहरु भेटिएका हुन्।तीमध्ये ६५ जना पुरुष र ४५ जना महिला हुन् । तर पर्साको १४ पालिकामध्ये ठोरी गाँउपालिकामा भने विगत तीन वर्षदेखि एक जनापनि कुष्ठरोगका प्रभावित नभेटीएको पनि जानकारी झाले दिए ।
झाका अनुसार, वीरगन्ज महानगरपालिकामा सबैभन्दा धेरै ४१ कुष्ठरोगका प्रभावितहरु भेटीएका छन् । त्यस्तै त्यसपछिको धेरै कुष्ठरोगका प्रभावितहरु जगरनाथपुर गाउँपालिकामा १५ जना भेटिएको झाले बताए । त्यस्तै विन्दबासिनी गाउँपालिकामा १२ जना, छिपरमाई गाउँपालिकामा ९ जना , पोखरीया नगरपालिकामा ८ जना , कालिकामाई गाउँपालिकामा ५ जना , पकाहामैनपुर र जिराभवानी गाउँपालिकामा ४/४ जना , पटेर्वासुगौली गाउँपालिका र बहुदरमाई नगरपालिकामा ३/३ जना तथा सखुवापर्साैनी , धोवीनी गाउँपालिका र पर्सागढी नगरपालिकामा भने २ /२ जनामा कुष्ठरोग देखा परेको झाले बताए ।
त्यस्तै गत आर्थिक वर्षमा मधेस प्रदेशकै बारा जिल्लामा १ सय २३ जना , रौतहटमा १ सय २४ जना , सर्लाहीमा १ सय २५ जना ,महोत्तरीमा ८६ जना , धनुषामा १ सय ६५ जना , सिरहामा ९८ जना र सप्तरीमा ४३ जना कुष्ठरोगका प्रभावितहरु रहेका छन् ।
पर्सामा भने बिरामी पत्ता लाग्ने दर प्रति एक लाखमा १६ दशमलव तीन जना रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा नै कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा एक दशमलव ६ जना रहेको छ। त्यसअघिको आर्थिक वर्ष २०७९/८० मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने दर प्रति १ लाख जनामा १७ दशमलव १ जना रहेको थियो ।
प्रमुख झाका अनुसार स्वास्थ्य कार्यालयले कुष्ठरोग नियन्त्रणका लागि प्रभावकारी ढङ्गले प्राथमिकताका साथ विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । विश्वव्यापी कुष्ठरोगको रणनीति तथा त्यसका आधारमा तय भएको राष्ट्रिय कुष्ठरोग मार्गचित्र २०२१/२०३० र यसले तय गरेका लक्षहरुलाई ध्यानमा राखेर कामहरु भईरहेको झाले बताए ।तर अझ पनि खासगरी पुरुषको तुलनामा महिलाहरु कुष्ठरोगबाट धेरै प्रभावित भएपनि उनिहरु खुलेर बाहिर आउन नसक्दा चुनौती भने थपिदै गएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।