जनकपुरधाम । विवाहको उमेर हद २० वर्ष नै यथावत राख्नुपर्ने माग गर्दै धनुषाका किशोरीले मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई बिहीबार मन्त्रालयको कार्यकक्षमै गएर ज्ञापनपत्र बुझाएको छ ।
मुलुकी देवानी संहिता २०७४ को दफा ७० को उपदफा १ (घ) अनुसार विवाहको उमेर २० वर्ष पूरा भएको भनी व्यवस्था रहेको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले २०८१ माघ २ गते विवाहको उमेरहद २० वर्षबाट घटाएर १८ वर्षमा झार्न दिएको सुझावप्रति किशोरीले आपत्ति जनाएका हुन् ।
गर्लस च्याम्पियन सञ्जालका सचिव विमला राईको नेतृत्वमा गएको टोलीमा लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरसहितका व्यक्तिहरूको सहभागिता थियो ।
बाल विवाह निषेधीकरणको क्षेत्रमा कामकाज गर्ने गर्लस च्याम्पियन सञ्जाल, गर्लस फस्ट फन्ड, लाइफ नेपालसहितका संस्थाहरूमा बाल विवाह रोक्न कार्यरत किशोरीहरूले मन्त्री जयसवाललाई ज्ञापनपत्र बुझाएका थिए ।
किशोरीहरूले अध्ययन, अनुसन्धान तथा वैज्ञानिक तथ्यका आधारमा कानुनीरूपमै विवाहको उमेर २० वर्ष तय गरिएकोमा कानुन बनाउने तहबाटै एकाएक उक्त उमेर १८ वर्षमा झार्ने बहस अगाडि बढ्नु दुखद रहेको भनाइ राख्नु भयो ।
बालबालिकाको शिक्षा, प्रजनन् स्वास्थ्य, मानसिक तथा शारीरिक परिपक्वता, सम्मानयुक्त पारिवारिक वा सामाजिक जीवनयापन, बालअधिकार, किशोरकिशोरीको अधिकारलाई ध्यानमा राखी कानुनीरूपमा नै नेपालमा विवाहको उमेर २० वर्ष तोकिएको किशोरीहरूको भनाइ छ ।
किशोरीहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले समाजमा बाल विवाह बढ्नुमा सरकारले तोकेको उमेर पनि एक रहेको कुरा विभिन्न पक्षबाट आउन थालेको सुनाउनु भयो ।
मन्त्री जयसवालले समाजमा ठुलै समस्याहरू देखिएको कारण यस किसिमको प्रस्ताव आएको बताउँदै किशोरीहरूले उठाएका विषयलाई छलफलका लागि माथिलो स्तरमा पुर्याउने बताउनु भयो । उहाँले स्वास्थ्य र शिक्षाको दृष्टिकोणले किशोरीहरूले उठाएको माग जायज भएको भन्दै यस विषयमा अभिभावकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।