जनकपुरधाम । सिरहाको यातायात व्यवस्था कार्यालय लहानका अधिकृत (छैटौं) विजय दाहालको १५ असोजमा श्रम तथा यातायात मन्त्रालयमा सरुवा भयो । तर, दाहालले सरुवा अटेर गर्दै यातायात कार्यालयमै काम गरिरहेका छन् । मन्त्रालयका सूचना अधिकारी सुनिलकुमार साहले दाहाल अहिलेसम्म मन्त्रालयमा हाजिर नभएको बताए । दाहालको सरुवा र बेवास्ता पहिलो भने होइन । एक वर्षभित्रै दाहालको तीन पटक सरुवा भएको छ र तिनैपटक उनले यातायात कार्यालय छोड्नु परेको छैन ।
२०८० भदौमा उनलाई मधेशको उद्योग तथा पर्यटन मन्त्रालयमा सरुवा गरिएको थियो । तर, उनले त्यहाँ काम नगरी यातायात कार्यालय लहानमै बस्न सफल भए । त्यसपछि मुख्यमन्त्री कार्यालयले १८ चैत २०८० मा उनलाई भू तथा जलाधार कार्यालय लहानमा सरुवा गर्यो । जलाधार कार्यालयमा पनि हाजिर भएनन् । पछिल्लोपटक १५ असोजमा श्रम तथा यातायात मन्त्रालयमा तान्ने निर्णय भयो । तर पनि दाहाल मन्त्रालय गएका छैनन् ।
पटक–पटक सरुवा हुँदा पनि सरुवा भएको कार्यालय नजानुको कारणबारे प्रश्नमा उनी एकछिन अलमलिए र भने, ‘अब चाँडै जान्छु ।’ २८ साउन २०७१ मा उनी पहिलोपटक यातायात व्यवस्था कार्यालय सगरमाथा, लहानमा खरिदारका रूपमा आएका थिए । त्यसबेलादेखि एक वर्ष मात्र कार्यालय बाहिर बसेका दाहाल त्यहीँ बस्दाबस्दै बढुवा भएर अधिकृत छैटौंसम्म पुगिसकेका छन् ।
साधारणतया कर्मचारीको सरुवा दुई वर्षमा हुने प्रावधान छ । तर, दाहाल १० वर्षदेखि एउटै कार्यालयमा छन् ।
सरुवा हुन नमान्ने यातायात कार्यालयका दाहाल एक्ला कर्मचारी भने होइनन् । यातायात व्यवस्था कार्यालय जनकपुरमा अधिकृत छैटौंमा कार्यरत रमेशकुमार दासलाई पनि दरबन्दी कायम भएको शिक्षा विकास निर्देशनालयमा फर्किन पत्र मन्त्रालयले पत्राचार गरेको थियो । तर उनले पनि अटेर गरिरहेका छन् ।
मन्त्रालयका सूचना अधिकारी सुनिल साहका अनुसार मन्त्रालयले दासलाई काज फिर्ता हुन दुईपटक पत्र पठाइसकेको छ । तर उनी पनि अहिलेसम्म मन्त्रालयमा हाजिर भएका छैनन् । अधिकृत दासले कार्यालयमा जनशक्ति अभाव हुँदा कार्यालयकै आग्रहमा यो महिनाभरिका लागि पर्खिएको बताए ।
यातायात व्यवस्था कार्यालय बर्दिबासका अधिकृत सञ्जय खतिवडालाई पनि १५ असोजमै वन कार्यालय, सर्लाहीमा फर्किन पत्राचार भएको थियो । तर, उनले ९ माघमा बल्ल रमाना पत्र बुझेर आफ्नो दरबन्दी भएको सर्लाही वन डिभिजनमा फर्किएको साहले बताए । मन्त्रालयका सचिव सुरेन्द्रकुमार पौडेलले सरुवा र काज फिर्ताको निर्णय कार्यान्वयन गरिने बताए । ‘म एउटा कार्यक्रमको सिलसिलामा बाहिर छु । मैले यो विषयमा बुझेर निर्णय कार्यान्वयन गराउन निर्देशन दिन्छु,’ उनले भने ।