काठमाण्डौ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित सबै परियोजना स्थगित गर्न पत्र पठाएको छ ।
अमेरिकाले तीन महिनाका लागि विदेशी अनुदान स्थगित गर्ने निर्णय गरेसँगै यूएसएआईडीले नेपाललाई पनि पत्र पठाएर तीन महिनाका लागि सबै कार्यक्रम रोक्न भनेको हो ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले दातृ निकायमार्फत हिजो पत्र प्राप्त भएको उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पत्रमा तालिम, सामान किनमेल, समुदायका लागि सञ्चालित कार्यक्रमलगायत स्थगित गर्न भनिएको छ ।
तीन महिना पछि प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेर अनुदान दिने/नदिनेसम्बन्धी निर्णय गर्नेसमेत पत्रमा उल्लेख भएको सुवेदीले जानकारी दिनुभयो ।
नयाँ सरकार आउँदा अघिल्ला कार्यक्रमहरूको लगानीमा प्रभावकारिता हेर्नु स्वाभाविक भएको र पत्रमा कार्यक्रमहरू खारेज नभनी स्थगित भनेकाले पछि अनुदानले निरन्तरता पाउने सम्भावना रहेको उहाँको भनाइ छ ।
नेपाल जस्तो अल्पविकसित देशलाई दिएको अनुदान पूर्ण रूपमा रोक्ला जस्तो आफूलाई नलागेको सुवेदीले बताउनुभयो ।
यूएसएआईडीले अर्थ मन्त्रालयलाई पनि पत्र लेखेर अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको छ ।
पत्रमा यूएसएआईडी र नेपालको सम्झौताअनुसार सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीतिसहित मुख्यतः चार क्षेत्रका कार्यक्रम तत्काल निलम्बित भएको उल्लेख छ ।
पत्रमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयनका लागि अहिलेलाई ९० दिनका लागि अनुदान निलम्बन गरिएको जानकारी दिए पनि पनि त्यसपछि के हुन्छ भन्ने उल्लेख छैन ।
अमेरिकाले नेपाललाई बजेटमा समावेश हुने गरी (बजेटरी) र बजेटभन्दा बाहिर खर्च गर्ने गरी (गैरबजेटरी) माध्यमबाट अनुदान दिँदै आएको छ । धेरै अनुदान यूएसएआईडीमार्फत आउने गर्छ ।
नेपालमा पूर्वाधारसम्बन्धी कार्यक्रमका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत आइरहेको अनुदान छुट्टै हो ।
अमेरिकाबाट प्राप्त अनुदान नेपालमा सुशासन, मानव विकास, विपद् सुरक्षण तथा पूर्वतयारी, पूर्वाधार निर्माण, शिक्षा तथा स्वास्थ्य र जनसङ्ख्या क्षेत्रअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य र परिवार नियोजन, एचआईभी एड्स, पानी आपूर्ति तथा सरसफाइ, आधारभूत स्वास्थ्यलगायत क्षेत्रमा प्रयोग हुँदै आएको छ ।
देशको वित्तीय सुधार, प्रशासन सुधारलगायत क्षेत्रमा पनि अमेरिकी अनुदान खर्च हुँदै आएको छ । कृषि क्षेत्रतर्फ कृषि नीति तथा प्रशासन व्यवस्थापनमा अमेरिकी अनुदानको ठूलो रकम उपयोग भइरहेको छ ।
राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकाले तत्कालका लागि वैदेशिक अनुदान रोक्ने निर्णय गरेपछि विश्वभर नै तरङ्ग उत्पन्न भएको छ । अब तीन महिनाको समीक्षापछि अनुदान स्थगन गर्ने वा निरन्तरता दिने भन्ने विषय अमेरिकी सरकारले टुङ्गो लगाउने छ ।