रौतहट । जङ्गली हात्तीको विध्वंसले रौतहटका किसानहरू प्रताडित छन् । गत असार महिनादेखि जङ्गली हात्ती रौतहटको चन्द्रपुर, वृन्दावन, गुजारा र फतुवा विजयपुर नगरपालिकाको जङ्गल नजिकैको गाउँमा बसिरहेका छन् ।
हात्तीको उपद्रोले रौतहटमा–२ दर्जनभन्दा बढी घर भत्किसकेको छ भने लाखौँ मूल्य बराबरको अन्न, तरकारी र फलफूल नष्ट भएको छ ।
हात्तीको आक्रमणले रौतहटमा एक महिलाले ज्यान गुमाउनु परेको छ भने एक घाइते भएका छन् । गत कात्तिक १६ गते फतुवा विजयपुर–११ रागीबुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।
तामाङको घर हात्तीले पूर्ण रूपमा क्षति पुर्याएको थियो । जङ्गली हात्तीले एक्कासि घरमा आक्रमण गर्दा उनका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका थिए ।
हात्तीले गत कात्तिकयता चन्द्रपुर–२ जुडिबेलामा मात्रै एक दर्जनभन्दा बढी घर भत्काएको छ । ‘बस्न नहुने गरी घर भत्कायो तर हामी भने भागेर बाँच्न सक्यौँ’, स्थानीय खिकप्रसाद पन्तले भने । पुलामीटोलका राजेन्द्र ठाकुरको पनि घर हात्तीको आक्रमणले पूर्ण रूपमा क्षति भएको थियो । राति सुतिरहेको बेलामा हात्तीले घर भत्काएको ठाकुरले बताए । बलमपाखी टोलका तारजन मगरको पनि हात्तीले घर पूर्णरूपमा भत्काएको छ ।
यस्तै चन्द्रपुर–३ गैँडाटारमा हात्तीले एकै रात सात घर भत्कायो । हात्तीले रौतहटमा दर्जनभन्दा बढी घर भत्काएको छ । फतुवा विजयपुर नगरपालिकामा—११ का भैसही र बुटवा बस्तीमा चार घर भत्काएको स्थानीय अजय तिमलसिनाले जानकारी दिए ।
हरेक वर्ष धान पाक्ने बेला आउने हात्ती धान काटिसकेपछि जाने गरेको थियो तर यसपालि गाउँमै बस्नाले यहाँका मानिसहरू असुरक्षित महसुस गरिरहेको छन् । हात्तीले घर भत्काइसकेपछि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्ले पीडितहरूका घरमै पुगेर जस्तापातासहित खाद्यान्न सहयोग गरेका थिए ।
जङ्गली हात्तीले खासगरी केराखेतीमा धेरै क्षति पुर्याएको छ । रौतहटको चन्द्रपुर—३ गैँडाटार र जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पु¥याएको छ ।
हात्तीले पटक पटक गरेर करिब एक बिगाहामा लगाएको केरा खेती नष्ट गरेको चन्द्रपुर–३ गैँडाटारका किसान लालबहादुर दोङले जानकारी दिए । फल्ने बेला भएको करिब सात सय केराको बोटमा हात्तीले नष्ट गरेको उनको गुनासो छ । केराखेतीमा बीमा नहुँदा पनि समस्या भएको उनको भनाइ छ ।
वृन्दावन नगरपालिका–१ बलरीखोरमा पनि हात्तीले हरेक राति विध्वंस मच्चाइरहेको स्थानीय सुरेन्द्र पटेलले जानकारी दिएका छन् । केही दिनयता गाउँका बासिन्दा हात्तीका कारण रातभर जाग्राम गर्न बाध्य भएका पटेल बताउछन् ।
हात्ती आउने तथा प्रभावित क्षेत्रमा पोलपोलमा बत्ती र चोक चोकमा आगोको व्यवस्था, हात्ती नियन्त्रणका लागि नियमित गस्ती र गस्तीका लागि इन्धनको व्यवस्था, हात्तीले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्ने, क्षति पुगेका घर तथा किसानलाई राहतको व्यवस्था गर्ने, घाइते भएकालाई तत्काल उद्धारका लागि एम्बुलेन्स खरिद गर्नेलगायतका निर्णयहरू गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले जानकारी दिए ।
सङ्घीय सांसद देवप्रसाद तिमल्सिना र प्रदेशसभा सदस्य युवराज भट्टराईले हात्ती व्यवस्थापनका लागि सङ्घीय तथा प्रदेश स्तरबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रभावित क्षेत्रका किसान र स्थानीय बासिन्दालाई राहत तथा उद्धारमा सरकारका तर्फबाट भरपर्दो सहयोग पुर्याउने उनीहरूले आश्वासन दिएका छन् ।
बर्सेनि हात्तीको समूह रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँहरू, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको रागी बुटुवालगायत गाउँहरूमा पस्ने गरेको छ ।
गत वर्ष मात्रै हात्तीको आक्रमणबाट चन्द्रपुरका घाँस, दाउरा गर्न गएका दुई महिलाले ज्यान गुमाएका थिए । हात्ती आतङ्कले गर्दा यहाँका बासिन्दा घाँस दाउरा गर्न जङ्गल जान समेत छाडेका छन् ।
यसैबिच रौतहटको दक्षिणी भेगतर्फ नीलगाई र बँदेलले किसानहरूको बालीमा क्षति पु¥याएको छ । केही वर्षदेखि जिल्लाको कटहरिया, देबाही, लालबकैया, विजयपुर, मौलापुरका किसानका नदी किनारका खेतमा लगाइएको मकै, धान, उखु, आलु, गहुँ, केरा, धनियाँलगायत बालीमा निलगाइले क्षति पुर्याउँदै आएको छ ।
लालबकैया नदीको दुवै किनारमा रहेका खरघारी र उखुबारीको आडमा लुकेर ठूलो संख्यामा नीलगाई र बँदेल बस्छन् । दिउँसो बाहिर निस्केर बालीमा चर्छन् ।
स्थानीयहरू वन्यजन्तुबाट बाली जोगाउन खेत नजिक र नदी छेउमा मचान बनाएर बस्न थालेका छन् । वन्यजन्तु नियन्त्रण गर्न कसैले पनि चासो नदिँदा आफूहरूको बाली जोखिममा परेको किसानहरूको गुनासो छ ।