नेपाल सरकारले यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशभर एक साथ एचपिभी (ह्युमन प्यापलोमा भाइरस) खोप अभियान सञ्चालन गर्न लागेको छ।
यो खोप महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि दिइन्छ।
नेपाली महिलाहरूमा पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशत कारक एचपिभी भाइरस नै हो। पाठेघरको मुखको क्यान्सरले नेपालमा दैनिक चार जनाको मृत्यु हुने गरेको तथ्यांक छ। यो भयावह अवस्था हो।
यस्तो अवस्था निवारण गर्न नेपाल सरकारले तीनवटा मुख्य लक्ष्य लिएको छ –
एक, दस वर्षदेखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीलाई एपिभी खोप दिने।
दुई, तीस वर्ष उमेर कटेकामध्ये कम्तीमा ९० प्रतिशत महिलाको पाठेघरमा क्यान्सर पत्ता लगाउन परीक्षण गर्ने।
तीन, क्यान्सर देखिएको अवस्थामा कम्तीमा ९० प्रतिशत महिलाको सफल उपचार गर्ने।
हामीले खोजेको नतिजा शतप्रतिशत नै हो तर कम्तीमा ९० प्रतिशत हाओस् भनेर सरकार लागिपरेको छ। शतप्रतिशत महिलाले खोप लगाउँछन् र स्क्रिनिङ (परीक्षण) गराउँछन् भने पाठेघरको मुखमा क्यान्सर हुने जोखिम निकै हदसम्म नियन्त्रण गर्न सकिन्छ।
परीक्षणमा पोजेटिभ (क्यान्सर भएको) रिपोर्ट देखिएर त्यसको सफल उपचार गर्न सक्यौं भने धेरैको ज्यान जोगाउन सकिन्छ। यही उद्देश्यका साथ नेपाल सरकारले पहिलो पटक एचपिभी खोप अभियान चलाउन लागेको हो। यसपछि पनि अभियान निरन्तर हुनेछ।
यो अभियानमा पहिलो पटक कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्रा समेटिने छन्। सरकारी र निजी दुवै विद्यालयका छात्राले खोप पाउने छन्।
पहिलो चरणको खोप अभियान विद्यालय केन्द्रित हो। कम्तीमा १९ हजार विद्यालयमा पुग्ने योजना छ।
विद्यालयबाहिर रहेका हुन् भने १० वर्षदेखि १४ वर्ष उमेर तोकिएको छ। यस्ता किशोरीका लागि अलग्गै सेसन (शिविर) हुनेछ। विद्यालयमै बोलाएर वा स्वास्थ्य संस्थाबाट समेत खोप दिन सकिन्छ।
कुनै किशोरी विद्यालय नगएर खोप छुटेको पनि हुन सक्छ। यसरी छुटेका र विद्यालयबाहिर रहेका किशोरीका लागि विद्यालयबाहिर आठ हजार खोप सेसन हुनेछन्। जसरी पनि शतप्रतिशत किशोरीलाई खोप दिने हाम्रो लक्ष्य छ।
यो खोप दिनुपर्ने उमेर समूहमा १६ लाख ८८ हजार किशोरी रहेको हाम्रो तथ्यांक छ। हाल हामीसँग १७ लाख ७० हजार २० मात्रा खोप छ। यो खोप देशभर पठाउने काम भइरहेको छ।
खोप पर्याप्त मात्रामा छ भन्ने कुरा हामीले सुनिश्चित गरेका छौं।
हामीले कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीलाई खोप लागाउने भन्नुका केही कारण छन्।
हामीले विद्यालयसँग मागेको तथ्यांकअनुसार ६ कक्षामा पढ्ने अधिकांश छात्राको उमेर १० वर्ष हुने रहेछ। यो आधारमा १० कक्षामा पढ्नेको उमेर १४ वर्ष हुने रहेछ।
उमेर एक–दुई वर्ष तलमाथि भएर फरक पर्दैन। कक्षा ६ मा पढ्ने कोही ९ वर्षको वा ११–१२ वर्षको हुनसक्ला वा कक्षा १० मा पढ्ने कोही १५–१६ वर्षको पनि हुन सक्ला। यी सबैले खोप लगाउन पाउँछन्।
यहाँ जिज्ञासा हुन सक्छ; उमेर १०–११ वर्ष छ तर पढाइ पाँच कक्षामा छ; यस्ता छात्राले खोप पाउँदैनन्?
यस्ता छात्राले अर्को वर्ष पाउँछन्। अब हरेक वर्ष ६ कक्षामा पढ्ने छात्रालाई एचपिभी खोप लगाउने सरकारी नीति छ। यसो भएपछि खोप लगाउन नपाउने वा छुट्ने हुँदैन।
विश्व स्वास्थ्य संगठनले एचपिभी खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई प्रभावकारी हुन्छ भनेको छ। नेपाल सरकारले यस पटक १० देखि १४ वर्ष उमेर भनेको छ। अर्को वर्षदेखि सबै सन्तुलन मिल्छ।
अहिलेको मापदण्डमा एक पटकको खोपले जीवनभर काम गर्छ भन्ने मानिएको छ। पाठेघरको मुखको क्यान्सर रोकथाममा एचपिभी खोप सबैभन्दा बढी प्रभावकारी देखिएको छ।
यो खोप लगाएपछि केही असर (पार्श्वप्रभाव) देखिन सक्छ। खोप लगाएको ठाउँमा दुख्ने, रातो हुने, सुन्निने र सामान्य ज्वरो आउने हुनसक्छ। यसमा आत्तिनु पर्दैन। एक-दुई दिनमा आफै ठिक हुन्छ। जुनसुकै खोपमा यस्तो असर देखिनु सामान्य हो।
खोप अभियान घोषणा गरेपछि विभिन्न जिज्ञासा आएका छन्। कसैलाई शंका पनि लागेको हुन सक्छ। हामीले ढुक्क भएर खोप लगाउन भनेका छौं।
एचपिभी खोप विश्वका १४५ देशमा लगाइन्छ।
व्यक्तिगत रूपमा किनेर लगाउने हो भने एक खोपको मूल्य साढे ६ हजार रुपैयाँ पर्छ। सरकारले निःशुल्क लगाइदिँदैछ।
नेपालमा जुनसुकै खोप अभियान सुरू गर्दा पनि परीक्षणका लागि पो हो कि भनेर आशंका हुने गरेको छ। यस्तो होइन। हामीले के बुझ्नुपर्छ भने विश्व स्वास्थ्य संगठनले मान्यता दिएका खोप मात्र नेपालमा ल्याइन्छ। हाम्रो खोप ऐन मातहत काम हुन्छ।
परीक्षणका लागि खोप दिनु भनेको त हामी कारबाहीमा पर्ने कुरा हो। नेपालमा आउने खोप जुन देशले बनाएको हो त्यहीँ परीक्षण भएको हुन्छ। विश्व स्वास्थ्य संगठनले मान्यता दिएपछि नेपालले ल्याउने हो।
विश्व स्वास्थ्य संगठनले मान्यता दिएका र अरू देशले पनि प्रयोग गरेका खोप मात्र हामीले ल्याउने भएकाले सुरक्षित हुन्छ।