एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक र इन्स्टाग्रामको मालिक कम्पनी मेटासँग कानुनी सम्झौतामा हस्ताक्षर गरेका छन् । जसअनुसार मेटाले डोनाल्ड ट्रम्पलाई करिब २५ मिलियन डलर तिर्नेछ ।
ट्रम्पले २०२१ मा ६ जनवरीको क्यापिटल दंगापछि आफ्ना खाता निलम्बन गरिएकोमा मेटा र यसको प्रमुख कार्यकारी मार्क जुकरबर्गविरुद्ध मुद्दा दायर गरेका थिए ।
२०२४ को जुलाईमा, मेटाले अमेरिकी राष्ट्रपति चुनावको तयारीमा ट्रम्पका फेसबुक र इन्स्टाग्राम खातामा अन्तिम प्रतिबन्ध हटाएको थियो ।
सम्झौताअनुसार, करिब २२ मिलियन डलर ट्रम्पको राष्ट्रपति पुस्तकालयको कोषमा जानेछ । बाँकी रकम कानुनी खर्च र मुद्दामा संलग्न अन्य वादीहरूलाई प्रदान गरिनेछ । मेटाले कुनै गल्ती भने स्वीकार गर्ने छैन ।
कम्पनीले २०२१ मा ट्रम्पका खाताहरू निलम्बन गरेको थियो र कम्तीमा दुई वर्षका लागि प्लेटफर्महरूबाट प्रतिबन्ध लगाउने बताएको थियो ।
नोभेम्बरमा ट्रम्पको चुनावी विजयपछि, जुकरबर्गले उनको फ्लोरिडा रिसोर्ट, मार-ए-लागो भ्रमण गरेका थिए । यो कदम उनीहरूको पहिलेको चिसो सम्बन्धमा सुधारको संकेतको रूपमा हेरिएको थियो ।
डिसेम्बरमा मेटाले ट्रम्पको कोषमा १ मिलियन डलर दान गरेको थियो । जुकरबर्ग जेनवरी महिनाको सुरुमा अमेरिकी क्यापिटलमा भएको ट्रम्पको उद्घाटनमा अन्य विश्वव्यापी प्रविधि अर्बपतिहरूसँगै अतिथि थिए ।
वर्षौंसम्म, ट्रम्पले जुकरबर्ग र फेसबुकप्रति अत्यन्तै आलोचनात्मक टिप्पणी दिएका थिए । २०१७ मा मेटाका प्लेटफर्मलाई “एन्टि-ट्रम्प” भनेर सम्बोधन गरेका थिए ।
उनको खाताहरू प्रतिबन्धित भएपछि उनीहरूको सम्बन्ध अझ बिग्रिएको थियो । मार्च २०२४ मा उनले फेसबुकलाई “जनताको शत्रु” भनेका थिए ।
अहिले ट्रम्पका सहयोगी एलोन मस्कको स्वामित्वमा एक्स र त्यतिबेलाको ट्विटरले पनि राष्ट्रपति ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट “स्थायी रूपमा” निलम्बन गरेको थियो ।
कम्पनीलाई ४४ बिलियन डलरमा किनेपछि, मस्कले २०२२ मा साइटमा चलाएको एक सर्वेक्षणपछि ट्रम्पको खाता पुनर्स्थापना गरेका थिए ।
बुधबार, मेटाले आर्टिफिसिएल इन्टेलिजेन्स सम्बन्धित आफ्नो ६५ बिलियन डलर लगानीको बचाउ गरेको छ । यस वर्ष आफ्नो एआई पूर्वाधार विस्तार गर्न ६५ बिलियनसम्म खर्च गर्ने योजना मेटाले गत हप्ता घोषणा गरेको थियो ।
धेरै अमेरिकी प्रविधि स्टकहरू यस हप्ता चिनियाँ एआई कम्पनी डीपसीकको लोकप्रियतामा वृद्धि भएपछि घटेका थिए । तर यद्यपि मेटाको स्टक भने बढेको थियो ।
जुकरबर्गले आगामी वर्षहरु कम्पनीका लागि अन्य क्षेत्रहरूमा पनि महत्वपूर्ण वर्ष हुने बताएका छन् । उनले सबै चश्माहरू एक दशक भित्र आफ्नो स्मार्ट चश्माले प्रतिस्थापन गर्ने अपेक्षा बुधबार दोहोर्याए ।
उनले फेसबुकको “सांस्कृतिक प्रासंगिकता” पुनर्जीवित गर्ने योजनाहरूको बारेमा पनि बताए । जुन उनको सम्पत्तिको मुल श्राेत हो । तर हाल उक्त साइट इन्स्टाग्राम र टिकटकको तुलनामा लोकप्रियतामा घटेको छ ।
२०२४ को अन्तिम तीन महिनामा ४८ बिलियन डलर भन्दाबढीको कारोबार गरेको कम्पनिले जनाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत वृद्धि हो ।