वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा हालै सरुवा भइ आएका प्रहरी उपरीक्षक गौतम मिश्रले कर्तब्य निर्वाहका क्रममा इमान्दारीका साथ काम गर्ने मातहतका प्रहरीलाई पुरस्कृत गर्ने तर बदमाशी गर्नेलाई भने दण्डीत गर्ने बताएका छन् ।
बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको सञ्चारकर्मीहरुको परिचयात्मक तथा भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक मिश्रले भने,‘राम्रो काम गर्ने मतहताका प्रहरी सुरक्षाकर्मीलाई पुरस्कृत गर्छु । तर बदमाशी गर्नेलाई भने निर्मम भएर कारबाही गर्छु ।
प्रहरी उपरीक्षक मिश्रले पर्सामा आँफु रहदाँसम्म देश र जनताप्रति इमान्दार भएर काम गर्ने प्रतिबद्धतापनि जनाए ।उनले भने,‘ म जति दिनसम्म पर्साको प्रहरी प्रमुखका रुपमा यहाँ रहन्छु इमान्दार भएर आफ्नो कर्तब्य निर्वाह गर्छु ।’जिल्लामा शान्ति सुरक्षा कायम राख्न आँफुले कुनै कसर बाँकी नराख्ने भन्दै उनले भने,‘शान्ति सुरक्षा कायम राख्ने क्रममा आइपर्ने हरेक चुनौतीको सामना गर्न म तयार रहन्छु।’
१८ बर्षपहिले प्रहरी निरीक्षक (इन्स्पेक्टर) का रुपमा वीरगन्जमा रहदाँ गरेका कामहरु स्मरण गराउँदै प्रहरी उपरीक्षक मिश्रले त्यसबेला र अहिले अपराध र अपराध गर्ने प्रकृति र प्रवृतिमा धेरै परिवर्तन आइसकेको बताए । मधेसको भूगोल र नागरिकका समस्या बारे आँफु पहिलेदेखि नै जानकार रहेको बताउँदै उनले पहिलेको अनुभवले अहिले काम गर्न आँफुलाई सहज रहेको बताए ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत जिल्लाका ग्रामीण भेगमा बालविवाह ,बहुविवाह , महिला हिंसा दाइजो प्रथा जस्ता विकृतिका विरुद्ध पर्सा प्रहरीले स्थानीय सरकार र नागरिक समाजसंग सहसकाार्य गरेर जनचेतनामुलक कार्यक्रम र अभियानलाई निरन्तरता दिनेपनि उनले बताए ।
वीरगन्ज देशकै आर्थिक नगरी भएकाले यहाँ आर्थिक अपराधका घटनापनि हुने गरेको कुरालाई आँफुले नजरमा राखेको उनले बताए ।कार्यक्रममा पर्साका पत्रकारहरुका साथै प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं लगायतकाकोपनि सहभागिता थियो ।