बाग्लुङ । भौगोलिक रूपमा विकट बाग्लुङको पर्यटकीय क्षेत्र ढोरपाटन तराईसँग जोडिएको छ । एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटकलाई अहिले कच्ची सडकमा भए पनि गाडीको सुविधा छ ।
राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन’ सडकले ढोरपाटन उपत्यका जोडिएको हो । रूपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएपछि अब विकट क्षेत्रमा समृद्धि आउने स्थानीयवासीमा अपेक्षा बढेको छ ।
२०६७ सालदेखि शुरू भएको सडक आयोजनाको काम सुस्त छ । तर ढोरपाटन तराईसँग सीधा जोडिएको छ । रूपन्देहीको सालझण्डीदेखि शुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बाग्लुङ गरी पाँच वटा जिल्लालाई छिचोल्दै ढोरपाटन जोडिएको हो ।
सालझण्डीदेखि ढोरपाटनसम्म एक सय ९७ किलोमिटर लामो रहेको सडक बाग्लुङमा मात्रै ६१ किलोमिटर पर्छ । बाग्लुङको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकासँग जोडेको यो सडकले भारतीय पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
तराई र पहाडलाई जोडेको सालझण्डी–ढोरपाटन सडकले दुवै क्षेत्रमा उत्पादन हुने वस्तु बजारीकरण गर्न टेवा पुग्ने ढोरपाटन नगरपालिकाका उपमेयर धनबहादुर कायत (कल्याण) ले बताउनुभयो । ढोरपाटनमा वर्षेनि करोडौंको आलु र स्याउ उत्पादन हुने तर सडकको अवस्था खराब हुँदा बजार पुर्याउन समस्या हुँदै आएको उहाँको भनाइ छ ।
निर्माण कम्पनीले सडक स्तरोन्नति नगर्दा नागरिक र पर्यटकले सास्ती खेप्नुपरेको भन्दै यसतर्फ माथिल्लो सरकारको ध्यान जान जरुरी रहेको उपाध्यक्ष कायत बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘ढोरपाटन सीधा तराईसँग जोडिएको छ, यो हाम्रा लागि गौरवको विषय हो, यो सडक कालोपत्र भयो भने यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने छ, यसै पनि ढोरपाटन चर्चित छ, भविष्यमा पर्यटनमार्फत नै यस क्षेत्रका नागरिकको जीवनस्तर उकासिन्छ भन्ने विश्वास छ, तराईसँग सिधै ढोरपाटन जोडिने हुँद बसाइँसराइ पनि रोकिने छ ।’
ढोरपाटन नगरपालिका–९ का खिमबहादुर पुन मगरले पहिले आफूहरू पैदल हिँडेर ११ दिनमा बुटवल पुगेर नुन, चामल र लत्ता कपडा ल्याउने गरेको स्मरण गर्दै अहिले सडक आएपछि गाउँभर पसल खुलेको बताउनुभयो ।
पछिल्लो दुई दशकमा ठूलो परिवर्तन आएको भन्दै कच्ची सडकका कारण ढुवानी र यात्रा गर्न असहज भएको उहाँको भनाइ छ । आफूहरूले यसरी विकास होला भन्ने कल्पना नगरेको पुन मगर बताउनुहुन्छ ।
‘बटौली पुगेर नुन बोकेको अस्ति भर्खरजस्तो लाग्छ, अहिले उ बेलाको जस्तो नुन चामल ल्याउन बटौली जानुपर्दैन, अचेल त घरै अगाडि गाडी गुड्छन्, चाहिने सामान सबै यही ल्याउँछन्’, उहाँले भन्नुभयो, ‘पहिले आलु, स्याउ र सिमी बिक्री हुँदैनथ्यो, अहिले गाडीमा हालेर बजार पठायो भने पैसा आउँछ, यो सडक (सालझण्डी–ढोरपाटन) पिच भयो भने सीधै तराईमा पठाउन सकिने छ, तराईको उत्पादन पनि ढोरपाटनमा सहजै आउने छ ।’
सालझण्डी–ढोरपाटन सडकले प्रसिद्ध धार्मिकस्थल लुम्बिनी र ढोरपाटन जोडेको हुँदा अब पर्यटक आगामनमा वृद्धि आउने होटल व्यवसासी गङ्गाबहादुर भण्डारीले बताउनुभयो । तराई र पहाड ओहोरदोहोर गर्न यो सडक निकै छोटो हुने हुँदा व्यापारिक तथा अन्य गतिविधि बढ्ने उहाँको भनाइ छ । अहिले ढोरपाटन उपत्यकादेखि बुकी पाटन जाने पर्यटक कम भएको भन्दै सडकको विस्तारपछि धेरै पुग्ने भण्डारी बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘ढोरपाटन नेपालमा मात्र नभएर विश्वमै परिचित छ, वन्यजन्तुको शिकार खेल्न अहिले धेरैजसो विदेशी पर्यटक आउँछन्, सडकको सहजता बढ्दै गयो भने नेपाल भरबाट मानिसहरू यहाँ आउने छन्, पर्यटकीय हिसाबले ठूलो सम्भावन बोकेको हुँदा केही वर्षपछि ढोरपाटनमा पर्यटकले गुल्जार भन्ने छ, लुम्बिनी, ढोर बराह दर्शन गरेर उत्तरगङ्गामा स्नान गर्ने बढ्ने छ ।’
सालझण्डी–ढोरपाटन सडक आयोजानको काम कछुवा गतिमा हुँदा पर्यटक र स्थानीयवासीले हैरानी खेप्नुपरेको छ । आयोजना शुरू भएको १४ वर्षमा ३० प्रतिशत मात्रै सकिएको छ ।
पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि वि.सं.२०६७ देखि शुरू भएको आयोजनालाई द्रुत गतिमा अगाडि बढाउन जरुरी छ । शिकार आरक्ष जोड्ने मुख्य मात्रका रूपमा रहेको यस सडक ट्र्याक खुलेदेखि स्तरोन्नति हुन सकेको छैन । यस सडक अहिलेसम्म १८ किलोमिटर मात्रै कालोपत्र भएको छ ।
त्यसमध्ये रुपन्देहीमा साढे चार किलोमिटर र अर्घाखाँचीमा साढे १३ किलोमिटर मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इन्जिनियर कृष्टिना थापाले जानकारी दिनुभयो । अहिले पाँच वटै जिल्लाको विभिन्न खण्डमा ग्राभेलिङसहितको काम भइरहेको उहाँको भनाइ छ ।
बाग्लुङको बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किमी सडक ग्राभेल हुँदैछ भने रुपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलादेखि खुर्सानेसम्म साढे १३ किलोमिटर सडक कालोपत्र भइरहेको थापाले बताउनुभयो ।
पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पतौटसम्मको २२ किलोमिटर, अर्घाखाँचीको माटेदेखि भण्डारासम्म सात किलोमिटर र गुल्मीको पुर्कोटदहदेखि सिर्सेनीसम्मको १९ किलोमिटर सडक कालोपत्र भइरहेको उहाँको भनाइ छ ।
सिर्सेनीदेखि गुल्मीको अर्खबाङसम्मको ८ दशमलव २ किलोमिटर सडकसमेत कालोपत्र भइरहेको उहाँले बताउनुभयो । अब अर्घाखाँची खण्डमा १८ किलोमिटर, गुल्मी र बाग्लुङ खण्डमा सात/सात गरी ३२ किलोमिटर सडक स्तरोन्नतिको काम अझै शुरू नभएको उहाँको भनाइ छ ।