भारतमा आज नयाँ बजेट सार्वजनिक भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट आज सार्वजनिक भएको हो । अर्थमन्त्री निर्मला सीतारमणले लगातार आठौं पटक संसद्मा बजेट पेश गर्नुभयो ।
भारतबाट मोराजी देशसाईले सबैभन्दा धेरै १० पटक बजेट पेश गर्नुभएको छ । देसाईले अर्थमन्त्रीका रूपमा सन् १९५९ देखि १९६४ सम्म ६ पटक र सन् १९६७ देखि १९६९ सम्म ४ पटक बजेट पेश गर्नुभएको थियो । लगातार आठौं पटक बजेट प्रस्तुत गर्ने कीर्तिमान भने निर्मला सीतारमणको नाममा रहेको छ ।
बजेटका अनुसार अब वार्षिक १२ लाख भारुसम्म कमाउनेले आयकर तिर्नुपर्दैन । यसअघि सन् २०१४ मा साढे २ लाख, २०१९ मा ५ लाख, २०२३ मा ७ लाख भारुसम्म कमाउनेलाई आयकर छुट थियो ।
बजेटमा किसान क्रेडिट कार्डको सीमा ३ लाखबाट बढाएर ५ लाख भारु पुर्याउने उल्लेख छ । यस्तै सडक व्यापारीहरूलाई आर्थिक रूपमा सहयोग गर्नका लागि ३० हजार भारुको क्रेडिट कार्ड, बालबालिकाको मनोवैज्ञानिक सोचको विकासका लागि विद्यालयमा नयाँ कुराहरू सिक्न, प्रयोग गर्न र सिर्जना गर्नका लागि आउँदो ५ वर्षमा ५० हजार ‘टिङ्करिङ ल्याब’ बनाइने उल्लेख छ ।
अर्थमन्त्री निर्मला सीतारमणले सक्षम आंगनवाणी पोषण २ अन्तर्गत ८ करोड बालबालिका तथा १ करोड गर्भवतीलाई लाभ पुग्ने बताउनुभयो । यस्तै बजेटमा बिहारमा मखाना बोर्ड स्थापना, कृषि योजनामा सयभन्दा धेरै जिल्लालाई महत्त्व, खाद्य क्षेत्रमा आत्मनिर्भरता बढाउने, किसान, महिला र युवालाई प्राथमिकता दिने उल्लेख छ ।
कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) शिक्षाका लागि उत्कृष्ट संस्थानको संस्थापनादेखि हरेक वर्ष २० लाख जना युवालाई सरकारले देशका शीर्ष ५ सय कम्पनीमा इन्टर्नशिप दिनेसम्मका कुरा भारतको नयाँ बजेटमा उल्लेख छ ।
बजेट भाषणको शुरूमा अर्थमन्त्रीले भारतको अर्थतन्त्र विश्वका ठूला अर्थतन्त्र भएका देशहरूमध्ये सबैभन्दा छिटो बढिरहेको र विगत १० वर्षको विकास कार्य र संरचनात्मक सुधारका आगि आफूहरूको ट्र्याक रेकर्डले विश्वव्यापी ध्यान आकर्षित गरेको बताउनुभयो ।