जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय प्रणालीलाई पूर्णता दिन संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ।
शनिबार जनकपुरधाममा पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा आयोजित संविधान संशोधनः आवश्यकता र चुनौती विषयक मधेश प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस नेता निधिले सो कुरा बताउनुभएको हो।
उहाँले अहिलेको संविधानले संघीयता लागू गरे पनि यसको कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्नुहुँदै संविधानमा रहेका केही प्रावधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “संघीयता प्रभावकारी बनाउन संविधान संशोधन अपरिहार्य छ, यसले प्रदेशलाई पूर्ण अधिकारसहित सशक्त बनाउन सकिन्छ।”
उहाँले संविधान संशोधनमार्फत प्रदेश र स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउनुपर्ने र स्रोत साधनको उचित बाँडफाँड गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
नेता निधिले संघीयताको सुदृढीकरणमार्फत मात्र विविधता र पहिचानको सम्मान हुने विश्वास व्यक्त गर्नुभयो। “संघीयता हाम्रो राजनीतिक उपलब्धि हो, यसलाई मजबुत बनाउने जिम्मेवारी सबैको हो, त्यसकारण संविधान संशोधन कानुन निर्माण हुन आवश्यक छ’, उहाँले भन्नुभयो।
बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौला पन्तले कार्यक्रमको सभापतित्व गर्नुहुँदै संविधानको सफल कार्यान्वयनका लागि आवश्यक नीति, कानुनी सुधार र राजनीतिक सहमतिको आवश्यकता औंल्याउनुभयो। उहाँले संविधान संशोधनलाई देशको समृद्धि र स्थायित्वका लागि सकारात्मक अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागीले संविधान संशोधनसँग सम्बन्धित विविध पक्षमा आफ्ना धारणा राख्दै संशोधन प्रक्रिया सबै वर्ग, समुदाय र प्रदेशको हितमा हुने गरी अघि बढ्नुपर्ने माग राखेका थिए।
कार्यक्रममा प्राध्यापक तथा वरिष्ठ अधिवक्ता सूर्य ढुंगेल, लयर्स एसोसिएसनका धनुषाका अध्यक्ष ललितकुमार झा, नेपाली कांग्रेसका आठ जिल्लाका सभापति, राजनीतिक विश्लेषक, कानुनविद् तथा नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो।