ढल्केबर । धनुषाधाम ऐतिहासिक र धार्मिक महत्त्व बोकेको स्थान हो । जनकपुरधामबाट करिब १८ किलोमिटर उत्तर–पूर्वमा अवस्थित यो ठाउँ एक महिने मकर मेलाका लागि विशेष चर्चित छ ।
यहाँ माघ १ गतेदेखि माघ मसान्तसम्म मेला लाग्ने गर्दछ । मेलामा धार्मिक आस्था र सांस्कृतिक विविधताको सङ्गम देख्न पाइन्छ । तर पछिल्लो केही वर्षयता मेलाको सबैभन्दा ठुलो आकर्षण तेजपात बनेको छ । यहाँ आउने भक्तजन कोसेलीको रूपमा अनिवार्य तेजपात किन्ने गरेका छन् ।
यहाँ गत वर्षको मेलामा करिब एक करोड रुपियाँ बराबरको तेजपातको कारोबार भएको थियो । तेजपातका थोक व्यापारी चलितर यादवका अनुसार गत वर्ष दुई हजार चार सय क्विन्टल तेजपात बिक्री भएको थियो । यस वर्ष एक आइतबारका दिन मात्र १० क्विन्टल बिक्री भएको उहाँले बताउनुभयो ।
तेजपातको बिक्री वितरण केवल मसला र औषधीका रूपमा सीमित नरहेर सांस्कृतिक कोसेलीको रूपमा पनि महत्त्वपूर्ण बनेको उहाँको भनाइ छ ।
त्रेतायुगमा तत्कालीन मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्न भगवान् रामले शिवको पिनाकमा प्रत्याञ्च चढाउँदा तीन टुक्रा भएर एक खण्ड आकाश, दोस्रो खण्ड पाताल र तेस्रो खण्ड धनुषामा खसेकाले धनुषाधामकै रूपमा पुजिन थालिएको धार्मिक तथा पौराणिक मान्यता रहिआएको छ ।
यहाँ दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भए पनि माघ महिनाको प्रत्येक आइतबार लाग्ने मेलाका दिन अत्यधिक भिड रहन्छ । यस धार्मिक मेलामा धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली तथा भारतीय सीमावर्ती क्षेत्रका दर्शनार्थी आउने गर्छन् ।
मेलाको थुप्रै चलन तथा मौलिकता गुम्दै गए पनि तेजपातको खरिद बिक्री भने झन् वृद्धि हुँदै गएको स्थानीय सञ्चारकर्मी मुकेशकुमार ठाकुरले बताउनुभयो। कुकुर, छाउरो, घोडा, हस्तकला किनबेच तथा आमा–छोरीको मिलन, लोकदोहोरी र मन्दिरमा विवाह गर्ने चलन एवं मौलिकता हराउँदै गए पनि तेजपातको खरिद बिक्रीमा वृद्धि भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, "भान्सा तथा घरेलु औषधीमा प्रयोग गरिने तेजपात बर्सेनी आयोजना हुने यो मेलाको मुख्य आकर्षण बन्दै गएको छ । मेला भर्न आउने अधिकाङश दर्शनार्थी तेजपात खरिद गर्नेगरेका छन्। त्यसलगायत सखरखण्ड (केसौर) धुपी, फलामको कृषि तथा घरेलु औजारको पनि राम्रै व्यापार भइरहेको छ ।"
तेजपातको अर्का थोक व्यापारी शिवचन्द्र यादवले उदयपुरलगायत पहाडी जिल्लाबाट तेजपात खरिद गरेर ल्याउने गरेको गरेको बताउनुभयो । यहाँ ल्याएर ४५ देखि ५० रुपियाँमा खुद्रा व्यापारीलाई बेच्ने गरेको बताउँदै उहाँले अहिलेसम्म आफूले चार ट्रक तेजपात बिक्री गरेको जानकारी दिनुभयो । यहाँ २० भन्दा बढी थोक व्यापारी र ५० भन्दा बढी खुद्रा व्यापारी रहेको महतोको भनाइ छ ।
तेजपात खरिद गरेर घर फर्किदै गरेका ढल्केवरकी सरिता महतोले ताजा, वासनादार र अरू ठाउँको तुलनामा यहाँ तेजपात सस्तोमा पाइने भएकाले खरिद गरेको बताउनुभयो । एक वर्षका लागि पुग्नेगरी खरिद गरेको बताउँदै उहाँले कोसेलीको रूपमा वर्षेनी लाग्ने यही मेलामा आएर तेजपात खरिद गर्ने गरेको जानकारी दिनुभयो ।
स्थानीय युवा गोविन्द यादवका अनुसार मेला भर्न आउनेहरूले कासेलीको रूपमा मिठा पकवानसँगै तेजपात अनिवार्य खरिद गर्ने गरेको छन् । तेजपातका लागि छुट्टै बजार लाग्नेगरेको तेजपातको छुट्टै मेला लाग्ने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मकर मेला माघ महिना भर लाग्ने गरे पनि आइतबारका दिन बढी भिड लाग्ने गरेको छ । आइतबारको दिन औसत एक जनाले तीन किलो तेजपात खरिद गर्ने गरेका छन् । मेलामा एक किलो तेजपात ५० देखि ६० रुपियाँ पाइन्छ भने अन्य बजारमा यही तेजपात किलो सयदेखि एक १२० रुपियाँमा पाइन्छ ।”