काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्स रोकथामका लागि आजदेखि देशव्यापी एभचपिभी खोप अभियान सुरु गर्दै छ । विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले मङ्गलबारदेखि एचपिभी खोप अभियान सुरु गर्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ११ बजे खोप अभियान शुभारम्भ गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस अवसरमा प्रधानमन्त्री ओलीले एक भिडियो सन्देश जारी गर्नुहुँदै महिलाहरुको पाठेघरको मुखको क्यान्सर एउटा विश्वव्यापी र गम्भीर समस्या रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपालमा पनि यो रोग बढ्दै गएको छ । र यसबाट मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा यस रोगलाई निवारण गर्ने अथवा जनस्वास्थ्यको समस्याको रुपमा रहन नदिने भन्ने एउटा आह्वान गरेको छ, अभियान चलाएको छ ।’’
उहाँले यस अभियानमा सरिक हुन म सबैलाई हार्दिक आह्वान समेत गर्नुभएको छ ।
यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले पनि नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरहरुमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा जारी भिडियो सन्देशमा, ‘‘यसबाट हुने मृत्यु पहिलो स्थानमा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । त्यसैले यसको रोकथाम गर्नु हाम्रो पहिलो आवश्यकता हो ।’’ भन्नुभएको छ ।
उहाँले क्यान्सबाट सुरक्षित हुन एचपिभी खोप लगाउनुपर्ने बताउनुभयो ।
यो अभियानमा सरिक हुन र आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न राष्ट्रपति पौडेलले सम्बन्धित सबैलाई अपिल गर्नुभएको छ ।
यो अभियान आगामी फागुन ६ गतेसम्म चल्ने छ ।
अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्य छ ।