वीरगन्ज । बिन्दबासिनी गाउँपालिकाको प्रसौनी भाठ्ठामा रहेको मसरुर माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ ।
कक्षा १ देखि ९ सम्मको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानसम्बन्धी प्रयोगात्मक कामका लागि गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । बिन्दबासिनी गाउँपालिका र शिक्षा शाखाको समन्वयले विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना प्रविधि पुर्याउने उद्देश्यले विज्ञान प्रयोगशालाको स्थापना गरी सञ्चालनमा ल्याइएको हो । प्रयोगशाला स्थापनाका भएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिँदै विद्यालयलाई हरित विद्यालय बनाउन पनि पहल भइरहेको बताए ।
मंगलबार विधाको देवी भनेर चिनिने सरस्वती पूजाको अवशरमा प्रयोगशाला उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष तिवारीले केही विद्यार्थीलाई सामग्रीमा बारेमा जानकरी दिँदै उक्त प्रयोगशालाको अवलोकन गर्नु भएका थिए । विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइको कार्य निकै प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए । विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा १ देखि ९ सम्मका विद्यार्थी लाभान्वित हुने भएका छन् ।
गाउँपालिकाका अध्यक्ष तिवारीले प्रयोगशालाको उद्घाटन गरे । उनले प्रयोगशालाको उद्घाटन गर्दै शिक्षाको गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।
बालबालिकालाई विज्ञान र प्रविधिसँग जोड्न आधुनिक पढाई र विज्ञान प्रयोगशााला स्थापना भएर सञ्चालनमा आउनु विद्यार्थीका लागि एक सुनौलो अवसर भएको उनले बताए । हस्तान्तरण गरिएको सामग्रीमा विद्यार्थीले छुन पाउने, पढ्न पाउने र सिक्न पाउने कुरामा आफू विश्वस्त रहेको उनले सुनाए ।
विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न कठिनाइ थियो । प्रयोगशालाका लागि पर्याप्त सामग्री उपलब्ध भएपछि हाल विद्यालयको कक्षा कोठामा अलग्गैरुपमा प्रयोगशाला स्थापना गरिएको छ । छुट्टै प्रयोगशाला कक्षा कोठा भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरुपमा सिक्न पाउने भएका छन् ।