काठमाडौँ । आफूविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् । केही बेरअघि उनी जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
उनी गए राति नै स्थल मार्गबाट चितवन पुगेका हुन् । लामिछानेविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दर्ता भएको हो । यसअघि उनीविरुद्ध यस्तै प्रकरणमा कास्की अदालत, काठमाडौं अदालत र रुपन्देही अदालतमा पनि मुद्दा दर्ता भइसकेको छ ।
लामिछानेविरुद्ध चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित यो प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । १५ व्यक्ति र छवटा संस्थाविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला , शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।