जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले नेपालमा भारतीय पर्यटकको आगमनलाई प्रभावकारी रूपमा वृद्धि गर्न रणनीतिक पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो
जनकपुरधाममा आयोजित भारत–नेपाल पर्यटन सम्मेलनमा मुख्यमन्त्री सिंहले पर्यटकको आगमनले मधेशमा मात्र नभएर पुरै नेपालको विकासमा टेवा पुगेको हुँदा भारतीय पर्यटकलाई बढीभन्दा बढी नेपाल भित्र्याउनु पर्ने बताउनुभएको हो । उहाँले अयोध्या भ्रमण गर्ने कम्तीमा ५० प्रतिशत पर्यटकलाई नेपाल भित्र्याउने वातावरण बनाउन सके, नेपालका लागि ठुलो उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल र भारतबिचको त्रेता युगदेखिको सम्बन्धलाई आगामी दिनसम्म कायम राख्नु पनि ठुलो उपलब्धी रहेको उल्लेख गर्नुहुँदै भन्नुभयो, “भारतीय पर्यटक नेपाल भित्रिनु, नेपाल सरकारको आर्थिक वृद्धि हुनु हो, त्यसकारण दुई देशबिचको पर्यटन प्रवद्र्धनलाई व्यवस्थित बनाउन आवश्यक छ ।”
यसैगरी, थप प्रसंगमा मुख्यमन्त्री सिंहले रामायण सर्किट नेपाल–भारतको साझा सांस्कृतिक धरोहर रहेको दाबी गर्नुभयो । उहाँले यसलाई काठमाडौं, लुम्बिनी र पोखरासँग जोड्न सके, धार्मिक पर्यटनले अन्तर्राष्ट्रिय स्तरमा नयाँ परिचय पाउने बताउनुभयो । दुधमति नदीको संरक्षण र धार्मिक पूर्वाधार विकासमार्फत प्रदेश सरकारले रामायण सर्किटलाई उजागर गर्ने योजना अघि सारेको जानकारी समेत मुख्यमन्त्रीले दिनुभयो ।
मुख्यमन्त्री सिंहले धार्मिक पर्यटनको सम्भावनाबारे जोड दिुहुँदै भन्नुभयो, “जानकी मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकहरूलाई नेपालको अन्य धार्मिक गन्तव्यहरूसँग जोड्न सके पर्यटन क्षेत्रले प्रत्यक्ष आर्थिक लाभ पाउँछ ।”
नेपालका धार्मिक पर्यटकहरू प्रयागराज, अयोध्या, बाबाधाम र बनारस जाँदा भारतको पर्यटन क्षेत्रमा ठुलो आर्थिक प्रवाह हुने उल्लेख गर्नुहुँदै उहाँले नेपालमै यस्ता गन्तव्यहरूको विकास गर्न आवश्यक रहेको धारणा समेत राख्नुभयो ।
यस्तै, भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मिनाले धार्मिक पर्यटकहरूको सहजताका लागि दुवै देशले सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनकपुरधाम, पशुपति, लुम्बिनी, पोखरामा भारतीय पर्यटकहरूको ठुलो चासो छ भने नेपाली पर्यटकहरू भारतका धार्मिक स्थलहरूमा आकर्षित छन् । दुवै देशले सहकार्यलाई मजबुत बनाउनुपर्छ ।”
मधेश प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. हरिवंश झा र डा. भोगेन्द्र झा तथा वर्तमान उपाध्यक्ष डा. सोहनकुमार साहले रामायण सर्किटको विकासका लागि नेपाल र भारतले साझा रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूको भनाइमा, ‘‘भारतको बिहार र उत्तर प्रदेशसँग मधेश प्रदेशलाई पर्यटनमार्फत जोड्न सके यस क्षेत्रको आर्थिक विकासमा उल्लेखनीय गति आउनेछ ।’’
नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास परिषदका सचिव अतुल कुमार ठाकुरले सम्मेलनको उद्देश्य पर्यटन प्रवर्द्धनका लागि नीति निर्माणमा जोड दिनु रहेको बताउनुभएको थियो । जनकपुरधाम उद्योग जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष एवम् सम्मेलनका अध्यक्ष समेत रहनु भएका सुरेन्द्र भण्डारीले रामायण सर्किटको प्रभावकारी विकासका लागि पूर्वाधार निर्माण र पर्याप्त लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अधयक्ष निर्मल चौधरी, जनकपुरधामका पूर्व प्रमुख बजरंगप्रसाद साह जस्ता क्षेत्रीय अगुवाहरूले रामायण सर्किटको सम्भावना र चुनौतीबारे आफ्ना धारणा राख्नुभएको थियो ।
सम्मेलनमा नेपाल–भारतको धार्मिक पर्यटक प्रवाहलाई व्यवस्थित गर्दै दुवै देशको आर्थिक तथा सांस्कृतिक सम्बृद्धि सुनिश्चित गर्ने विषयमा सम्मेलनमा गहिरो बहस गरिएको थियो ।
जनकपुरधाम उद्योग वाणिज्य संघद्वारा मङ्गलबार जनकपुरधाममा आयोजित उक्त सम्मेलनलाई भारतीय महावाणिज्य दूतावास वीरगञ्ज, नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास परिषद्, चेम्बर अफ कमर्स जनकपुरधाम तथा ईण्डिया–नेपाल सेन्टरको सहकार्य रहेको थियो ।