काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको दाबी गरेका छन् । मंगलबार नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरूकै मागका कारण सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका हुन् ।
'धेरैको माग के छ भने यो सोसल मिडियालाई रेगुलेट गर्दिनुपर्यो मन्त्रीज्यु भन्ने छ । यो मनपरी गर्ने, मनपरी भन्ने कुरा लोकतन्त्र होइन होला नि त । त्यसैले हामीले सोसल मिडिया प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक हामीले पेस गरेका छौँ । विरोध अलिअलि सुरु भएको छ । लोकतन्त्रमा विरोध त भइहाल्छ,' मन्त्री गुरुङले भने ।
सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले त्यस्तो गर्नेलाई विधेयकमा दण्ड सजायको प्रावधान राखिएको उनले बताए । सञ्चारमन्त्री गुरुङले देशमा साइबर क्राइमका घटनाहरु बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न साइबर क्राइम नियन्त्रण गर्ने ऐनको मस्यौदा तयार गरिरहेको पनि बताए । कुनै पनि सामाजिक सञ्जालहरू दर्ता नभएको खण्डमा प्रतिबन्ध लगाइने उनको भनाइ छ ।
अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको र मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि सार्वजनिक आह्वान गरिएको बताए । 'टिकटकलाई हामीले भन्यौँ, तिमीले टुरिजममा हाम्रो देशको काम गर्नुपर्छ । उसले काम गरिरहेको छ । एआईको दुरुपयोग गरेर कति बदमासी गरिरहेको हुन्छ, हामी समात्नै सक्दैनौँ । किनभने उनीहरु हामीसँग आइरहेको छैन । मेटा, फेसबुक, इन्स्टाग्राम केके छ त्यो प्रयोग गर्दा हामीलाई के सहयोग गर्न सक्छौँ ? हामीलाई स्वास्थ्यमा सहयोग गर, हाम्रो इन्डस्ट्रीमा सहयोग गर । गुड गभर्नेन्सलाई काम गर्न सहयोग गर । त्यो नगरिकन उनीहरूलाई चलाउन दिँदैनौँ,' उनले भने ।
मन्त्री गुरुङले सकारमा दर्ता हुन आउनेलाई सञ्चालनका लागि सरकारले सहज वातावरण मिलाउने बताए ।